महोत्तरी । रामगोपालपुर नगरपालिकामा एकीकृत सेवा केन्द्र हुनुपर्ने माग राख्दै नगरवासीहरु तेस्रो दिन पनि आन्दोलनमा छन् । स्थानीय वासीहरु रामगोपालपुरमा नापी र मालपोत सेवा कार्यालय हुनुपर्ने माग राख्दै बजार र सडक बन्द गराएका छन् । आइतबार बिहान ९ बजेदेखि नै मुख्य चोकमा धर्ना दिँदै स्थानीयवासीहरुले सुरु गरेको चक्काजाम र बजार बन्द आज मंगलवार तेस्रो दिन पनि जारी रहेको छ।
चक्काजामका कारण जलेश्वरबाट-औरही हुँदै बर्दिवास जाने यातायात पूर्णतः बन्द छ भने रामगोपालपुर बजार पनि बन्द भएको छ । रामगोपालपुर नगरपालिकाका नगरप्रमुख रामदुलार साहले चार सूत्रीय माग राख्दै नगरवासी आन्दोलित भएको बताए । उनले ०७८ चैत २१ गतेको मन्त्रिपरिषद्को निर्णय खारेज गर, रामगोपालपुरमा मालपोत र नापी कार्यालयको शाखा कार्यालय गर, रामगोपालपुरको वडा नं. १, २ र ९ को नागरिकता इलाका प्रशासन कार्यालय रामगोपालपुरमै जारी गर, वडा नं. १,२ र ९ को विद्युत बिल रामगोपालपुर मै जारी गरे माग राख्दै आन्दोलित हुनुपरेको बताए ।




नगरप्रमुख साहले जिल्ला समन्वय समितिले रामगोपालपुरमा नै एकीकृत सेवा कायम गर्ने निर्णय गरे पनि ०७८ चैत २१ मा मन्त्रिपरिषद्ले निर्णय गरी गौशालामा सेवा केन्द्र स्थापना गरेको बताउँदै ती निर्णय खारेज गरेर रामगोपालपुरमै सेवा केन्द्र स्थापना आफूहरुको मुख्य माग रहेको बताए । उनले नगरवासीहरुलाई नागरिकता र विद्युत बिल बुझाउन गौशाला र सदरमुकाम जलेश्वर जानुपर्ने बाध्यता रहेको बताउँदै यस्तो सौतेला व्यवहारविरुद्ध आन्दोलन गरेको जानकारी दिए ।

रामगोपालपुर नगरपालिकामा नै इलाका प्रशासन कार्यालय रहे पनि वडा नं. १ बसविट्टी, वडा नं. २ मोहनपुर र टेङ्गरका बासिन्दालाई गौशाला तथा वडा नं. ९ खोपीका बासिन्दालाई नागरिकता बनाउन सदरमुकाम जलेश्वर जानुपर्ने बाध्यता रहेको भन्दै यो निर्णय एकदमै अव्यावहारिक रहेको प्रतिक्रिया नगरप्रमुख साहले दिए ।

उनले असार ३१ गतेसम्म तीन घण्टा बजार र यातायात बन्द गराउने र त्यसपछि पनि माग सम्बोधन नभए अनिश्चितकालीन आम हडताल गर्ने आन्दोलनको स्वरूप रहेको जानकारी दिए।




