
जनकपुरधाम - जनता समाजवादी पार्टीकी नेतृ तथा प्रदेश प्रदेशकी सांसद डा. रिना यादव नेकपा एमालेमा प्रवेश गरेकी छन् ।
सप्तरी घर भएकी नेतृ डा. रिना काठमाडौं पुगेर अध्यक्ष ओलीबाट खादा ओढेर एमालेमा प्रवेश गरेकी हुन् । मधेस प्रदेशका पूर्व सांसद तथा एमाले नेता रामचन्द्र मण्डलको पहलमा सांसद डा. रिना एमालेमा प्रवेश गरेकी हुन्।
महन्थ ठाकुर नेतृत्वको तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा)ले डा. रिनालाई समानुपातिक कोटाबाट प्रदेश सांसद बनाएको थियो । पछि राजपा र उपेन्द्र यादव नेतृत्वको समाजवादी फोरमबीच एकता भयो र जनता समाजवादी पार्टी (जसपा) बन्यो ।
तर एकता धेरै टिक्न सकेन । र महन्थ ठाकुर नेतृत्वमा नेताहरु लोकतान्त्रिक समाजवादी गठन गरे । त्यतिबेला सांसद डा रिना जसपा नै रोजेकी थिइन् । स्रोतका अनुसार उनलाई उपेन्द्र यादवले राज्यमन्त्री बनाउने आश्वासन दिएका थिए ।
राज्यमन्त्री बन्न नपाएपछि पार्टी नेतृत्वबाट रुष्ट बनेकी उनी अन्ततः जसपा छाडेर एमालेमा प्रवेश गरेकी छन् । उनी जसपाको केन्द्रीय सदस्य पनि थिइन् ।
यस अघि जनता समाजवादी पार्टीकी केन्द्रीय कार्यकारी समितिका सदस्य एवम् निवर्तमान प्रतिनिधि सभा सदस्य अमृता अग्रहरी नेकपा एमालेमा प्रवेश गरिसके हुन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीले अग्रहरीलाई पार्टीमा स्वागत गरेको एमाले उपाध्यक्ष विष्णु पौडेलले जानकारी दिए ।