जनकपुरधाम- मिथिला क्षेत्रमा बोलीचालीमा ‘दशहरा’ भनिने बडादसैं पर्वका पुराना लोकपरम्परा हराउँदै गएका छन्।
दसैं सुरु हुनासाथ नगर÷गाउँ बस्तीमा बज्ने ढोल (नगारा) बज्न छाडेपछि राष्ट्रिय महत्वको यो पर्वमा स्थानीय लोकपरम्परा हराउँदै गएका हुन्।



“गाम घरमें आब न ढोल बजैय” (गाउँघरमा अब ढोल बज्न छोडेछ) धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरकी ७६ वर्षीया गीता देवी झा भन्छिन्, “दशहारा पावैन आयल बुझाइए न रहल अई” (दसैं पर्व लागेजस्तो नै बुझिन्न)। दसैं सुरु भएको पाँच दिन भइसक्दासम्म बस्तीमा ढोल बजेको सुन्न नपाइएको झाको भनाइ छ।
जनकपुरधाम सहित मिथिलाञ्चलमा नवरात्र सुरु भएसँगै बस्तीमा ‘दसैं के ढोल’ भन्दै चमार नाइकेले बजाउने ढोल बज्न छाडिएपछि गीता देवीजस्तै यस भेगका सर्वसाधारणले चिन्ता व्यक्त गरेका छन्।
“बौवा, पुरान परम्परा सब हेराय लागल, चिन्ता लगैय जे आब हमर कि पहिचान रहत ?” (बाबु, पुराना परम्परा हराउँदै गए, अब चिन्ता लाग्दैछ, अब हाम्रो के पहिचान रहला ?) धनुषा कै क्षीरेश्वरनाथ नगरपालिकाका पूर्व शिक्षक ७२ वर्षीय लालबाबु झाले भने ।
घटस्थापना कै दिन बस्तीका चमार जातिका अगुवा ठूलो आवाजको नगरा (ढोल) बजाउँदै ‘दसैं के ढोल’ भनेर कराउँदै हिँड्दा स–साना नानी उनका अघिपछि झुम्मिने गरेका कुरा अब दन्त्यकथाजस्तै भएको बुढापाकाहरु बताउँछन् ।
गाउँनगर बस्तीका पाका चमार जातिका अगुवा बुढ्याँइले हिँडडुल गर्न छोडेर नयाँ पुस्ताका चमार युवाले पुरानो थिति नअँगालेपछि अब दसैंको ढोल बज्न छाडेको हो। “कि करु हजुर, जवतक शरीर साथ देलक तबतक ढोल बजैली, आब बेटा÷पोता ढोल बजाव नइ चाहैय है, कि करु ?” (के गरौँ हजुर, जहिलेसम्म शरीरले साथ दियो, रमाइलो मानेर ढोल बजाउँथे, अब छोरा÷नाति ढोल बजाउन चाँहदैनन्, के गरौँ ?) क्षीरेश्वरनाथ–७ हरिहरपुर चमारटोलका ७५ वर्षीय चमार समुदायका अगुवा भरोसी महरा चमारले भने ।
दलित समुदायभित्रको चमार जातिका नयाँ पुस्ताका किशोर र युवा रोजगारीका लागि भारत र अरब, कतार, मलेसीया जस्ता खाडी मुलुक जान थालेपछि पुख्र्याैली रितिथिति र पेशा थाम्न छाडेको कुरा ओझलिएको चमार जातिका पाका उमेरका अगुवाहरु बताउँछन् ।
मैथिलीका साहित्यकार तथा वरिष्ठ पत्रकार रामभरोस कापडीले लोकसंस्कृतिको अभिन्न अंग मानिने यस्ता परम्परा अब लोप हुने अवस्थामा पुगेको बताउँदै उनले भने, “पुरानो यो लोकसंस्कृति कायम राख्न अब यसलाई समयअनुसार परिष्कृत गर्दै अघि बढ्नुपर्ने आवश्यक्ता छ । यो अभिभारा अब नयाँ पुस्ताले उठाउनुपर्ने र स्थानीय सरकारले यसको संरक्षण सम्बद्र्धनमा लाग्नु पर्ने आवश्यक्ता छ।”
वडा दशैँको शुभकामना














https://www.facebook.com/loveprem.yadav/videos/3916250978437894




