
काठमाडौं- पूर्व राष्ट्रपति डा. रामवरण यादवका छोरा चन्द्रमोहन यादवले नेपाली कांग्रेसले बुझाएको बन्द सूचीबाट आफ्नो नाम फिर्ता लिने भएका छन्।
संविधानसभा सदस्य समेत रहेका नेता यादवले कांग्रेसको बन्द सूचीबाट आफ्नो नाम हटाउन निर्वाचन आयोगमा आज निवेदन दर्ता गराएका हुन्। पार्टीले कायम गरेको विधि विपरित बन्दसूचीमा वरियताको उपयुक्त क्रम नमिलाई निर्वाचन आयोगमा नाम पेश गरिएकोले आफ्नो नामांकन फिर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएको उनले बताए।
कांग्रेसले बन्द सूचीमा यादवको नाम मधेसीतर्फ ३ नम्वरमा राखेको बुझिएको छ। उनले भनेका छन्, ‘वरियताक्रम नमिलाई मेरो नाम ३ नम्बरमा राखिएको छ। तर २ नम्वरमा हुनुपर्थ्यो।’ उनी नेपाली कांग्रेसका केन्द्रीय सदस्य पनि हुन्।
यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले पनि समानुपातिक सूचीबाट आफ्नो नाम फिर्ता लिएका छन्। दुवै केन्द्रीय सदस्य आफैँ निर्वाचन आयोगमा पुगेर आफ्नो नाम समानुपातिक सूचीबाट फिर्ता लिएका हुन्।
केन्द्रीय सदस्य भट्टराईको नाम कांग्रेसको समानुपातिक सुचीमा खस आर्य पुरुषतर्फ चौथो नम्बरमा थियो। पहिलो नम्बरमा प्रवक्ता डा. प्रकाशरण महत, दोश्रो नम्बरमा बसन्त भट्टराई, तेस्रो नम्बरमा केन्द्रीय सदस्य आनन्द ढुंगानाको नाम थियो।