
काठमाडौं- बलात्कारको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेलाई प्रहरीले बिमानस्थलबाटै गिरफ्तार गरेको छ। आज बिहान त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा ओर्लिएका लामिछानेलाई प्रहरीले गिरफ्तार गरेर प्रहरी बृत गौशला लगिएको हो।
उनी कतार एअरवेज हुँदै आज नेपाल फर्किएका हुन्। सुरुमा जाहेरी परेको गौशला बृतमा लगिने र त्यसपछि अनुसन्धानको थालिने प्रहरीको भनाई छ।
सन्दीपले आफूविरुद्ध लागेको आरोपमा हुने अनुसन्धानमा सहयोग गर्न प्रतिबद्ध रहेको पनि बताएका छन्। गएको भदौ २१ गते एक नाबालिगले सन्दीपविरुद्ध बलात्कारको जाहेरी दिएकी थिइन्। भदौ ५ गते सन्दीपले बलत्कार गरेको जाहेरीमा उल्लेख छ।
सन्दीपले समर्थन, विश्वास, विश्वास र आलोचनात्मक टिप्पणीहरूलाई आफ्नो सम्पत्ति, प्रेरणा र शक्तिको रूपमा लिएको बताएका छन्। उनले आफू षड्यन्त्र र गलत आरोपको कठिन समयको सामना गरिरहेको भन्दै नेपालको कानुनी प्रणालीमा निर्दोष साबित भएका अभियुक्तहरूलाई क्षतिपूर्ति दिने कुनै संयन्त्र हुनुपर्छ भन्नेमा विश्वस्त रहेको बताएका छन्।
“ममाथि लागेको गलत कारवाही र आरोपका विरुद्ध छिट्टै कानुनी सहयोग खोज्नेछु र न्याय पाउनेमा विश्वस्त छु। छिट्टै क्रिकेट मैदानमा फर्केर मेरो प्यारो देशको नाम र कीर्तिमान बनाउनेछु।” उनले भनेका छन्।
अब यो मुद्दा कसरी अघि बढ्ला
उनी विदेशमै रहेको बेला गत २१ भदौमा एक नाबालिकाले बलात्कारको जाहेरी दिएकी थिइन्। आफूविरुद्ध उजुरी पर्दा उनी क्यारेबियन लिग खेल्न नेपाल बाहिर थिए। उनीविरुद्ध नेपाल प्रहरीको आग्रहअनुसार अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेपछि उजुरीको महिना दिनपछि २० असोजमा स्वदेश फर्किए।
उनी पक्राउ परिसकेकाले हिरासतमा राखेर अनुसन्धान अघि बढाउन प्रहरीले अदालतसँग समय माग्नेछ। उनी केही दिन प्रहरी हिरासतमा रहनेछन्। त्यसपछि अदालती प्रक्रिया शुरु हुनेछ।
मुलुकी फौजदारी कार्यविधि संहिता ऐन २०७३ मा कुनै फौजदारी कसुरको आरोपमा प्रहरीमा जाहेरी परेमा के गर्ने भन्नेबारे विस्तृत प्रक्रिया खुलाइएको छ। सो अनुसार जाहेरी लिएको महानगरीय प्रहरी परिसर काठमाडौंले सन्दीपसँग बयान लिनेछ। बयानका क्रममा उनले आफूमाथि लागेको आरोपको प्रतिवाद गर्ने मौका पाउनेछन्। उनले आरोप झुटा रहेको भनी आफ्नो दलिल पेस गर्ने मौकासमेत पाउँछन्।
फौजदारी कानुनमा पीडितको जाहेरी र अनुसन्धान अधिकृतसमक्ष गर्ने भनाइलाई महत्त्वपूर्ण प्रमाण मानिन्छ। यसैले अदालतले पीडित किशोरी र उनका संरक्षकको पनि बयान लिन्छ। प्रमाण संकलनको लागि प्रहरीले पीडित किशोरीले स्वास्थ्य परीक्षणसमेत गराइसकेको छ। साथै, घटना भएको भनिएको होटेलमा गएर सीसीटिभी फुटेज संकलन गरिसकेको छ।
यस्तो छ अदालती प्रक्रिया
सन्दीपलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले २५ दिनको समय पाउने छ। अनुसन्धान टुङ्गिएपछि सन्दीपले जबरजस्ती करणी गरेको प्रमाण भेटिएमा प्रहरीले उनीविरुद्ध मुद्दा चलाउन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंलाई राय दिन्छ।
जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौंमा सन्दीप मुद्दा दायर गर्नेछ। मुद्दा दायरपछि जिल्ला अदालतले सन्दीपको बयान लिनेछ। साथै आफ्ना पक्षमा वकालत गर्नेको लागि सन्दीपले कानुनी सल्लाहकारसमेत राख्न पाउनेछन्। सन्दीपले अधिवक्ता सरोजकृष्ण घिमिलेलाई राखेका छन्।
बयान सकिएपछि थुनछेक बहस हुने छ। अदालती भाषामा थुनामा राखेर अनुसन्धान गर्ने वा धरौटीमा छाड्ने वा सामान्य तारेखमा छाड्ने भन्नेमा बहस हुनेछ।
यो प्रक्रिया सकिएपछि जिल्ला अदालतले शाहलाई थुनामा राख्ने, धरौटीमा छाड्ने वा सामान्य तारिखमा छाड्ने भन्ने आदेश दिनेछ। सामान्यतया: ३ वर्षभन्दा बढी कैद सजाय तोकिएको मुद्दामा धरौटीमा छाड्ने वा सामान्य तारिखमा छाड्ने प्रावधान छैन।
अदालतले आरोपितलाई पुर्पक्षका लागि थुनामा पठाउन सक्ने कानुनका जानकारहरू बताउँछन्। यदि प्रारम्भिक रूपमा सन्दीपले जबरजस्ती करणी गरेको भन्ने बलियो प्रमाण नभेटिएमा मात्र धरौटीमा वा तारेखमा रिहा हुनसक्ने कानुनका जानकार बताउँछन्।