
रौतहट — रौतहटको चन्द्रपुर–१ स्थित वाग्मतिमा ट्रकको ठक्करबाट महिलाको मृत्यु भएपछि स्थानीयले अवरुद्ध पारेको पूर्वपश्चिम राजमार्ग झन्डै ७ घण्टापछि बिहीबार राति ८ बजेबाट सञ्चालन भएको छ । घटनापछि मृतकमा आफन्त र स्थानीयले ट्रकमा आगजनी र दिनभर ढुंगामुडा गरे ।
त्यस क्रममा ईलाका प्रहरी चन्द्रनिगाहपुरका डीएसपी एकनारायण कोइराला र वारुणयन्त्रका चालक कुमार बस्नेत समन्य घाइते भएका छन् ।
पूर्वपश्चिम राजमार्गको नुनथर मन्दिर जाने बाटो नजिकै पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ६ ख १५०० नम्बरको ट्रकको ठक्करबाट दिउँसो करिब १ बजे पैदलयात्री चन्द्रपुर–१ बस्ने ५५ वर्षीया होममाया मगरको घटनास्थलमै मृत्यु भएको थियो । घटनापछि मृतकका आफन्त र आक्रोशित स्थानीयले ट्रकमा आगो लगाएका थिए ।
ट्रकमा लागेको आगो निभाउन गएको चन्द्रपुर नगरपालिकाको ना १ झ ६८८ नम्बरको वारुणयन्त्रमा पनि स्थानीयले ढुंगा प्रहार गरेर क्षति पुर्याएका छन् । त्यसक्रममा वारुणयन्त्रका चालक बस्नेतको अनुहारमा समान्य चोट लागेका प्रहरीले जनायो । स्थानीयले ढुंगामुडा गर्न थालेपछि लागेर डीएसपी कोइरालाको हातमा समान्य चोट लागेको छ । स्थिति तनाव बनेपछि प्रहरीले पीडित पक्षलाई राखेर छलफल गरेको थियो ।
अनुसन्धान नसकिँदासम्म शवको पोस्टमार्टम नगर्ने, पीडित पक्षसँग क्षतिपूर्तिको सम्बन्धमा सहमति नभए पुनः आन्दोलन गर्ने र ट्रकले ब्याक गरेर किचेको सम्बन्धमा गहिरिएर अनुसन्धान गर्ने सहमति भएपछि पीडितले राति घटनास्थलबाट शव उठाएका थिए । त्यसपछि सवारी सञ्चालन भएको डीएसपी कोइरालाले जानकारी दिए ।