
जनकपुरधाम- मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको चुनावका लागि आजदेखि जनकपुरधाममा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयको उद्घाटन धनुषा जिल्लाका मुख्य निर्वाचन अधिकृत, धनुषा जिल्ला अदालतका पहिलो मर्यादाका न्यायाधीश ब्रजेश प्याकुरेलले गरेका हुन् ।
जनकपुरधामको जिल्ला प्रहरी कार्यालयको अगाडि रहेको निधि भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरे सहितका सुरक्षा अधिकारी सहितका अधिकारीहरू उपस्थित रहेकोे थियो ।
प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनावका लागि असोज २३ र २४ गते मनोनयन पत्र दर्ता गर्ने भएकाले मुख्य निर्वाचन अधिकृत तथा अन्य निर्वाचन अधिकृतहरूको कार्यालय स्थापना गरिएको छ।
धनुषा जिल्लामा ४ प्रतिनिधि सभा तथा ८ वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेका छन् ।
त्यसैगरी धनुषा जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर -४ र प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नम्बर -४ को 'क' र 'ख 'को निर्वाचन अधिकृतको कार्यालय पनि आज धनुषा जिल्लाका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले महेन्द्रनगर धनुषाको जैशीबाबा धर्मशालामा एक समारोह बीच उद्घाटन गरेका छन्।
उक्त कार्यक्रममा क्षेत्र नम्बर -४ का निर्वाचन अधिकृत माननिय सुदिप दंगाल, क्षीरेश्वरनाथ नगरपालिकाका प्रमुख सुखदेव यादव, इलाका प्रहरी कार्यालयका प्रमुख बेचन यादव तथा विभिन्न पार्टीका क्षेत्रिय प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो ।
त्यस्तै धनुषाको क्षेत्र नम्बर १ को मुख्य निर्वाचन अधिकृतको कार्यालय धनुषाधाममा स्थापना गरिएको छ भने क्षेत्र नम्बर २ को कार्यालय तिनकोरिया चोकमा, क्षेत्र नम्बर ३ को कार्यालय जनकपुरधाममा निर्वाचन अधिकृतको कार्यालयको स्थापना गरिएको छ । चार वटै क्षेत्रमा स्थापना गरिएको कार्यालयको उद्घाटन एकैदिनमा मुख्यनिर्वाचन अधिकृत प्याकुरेलले गरेका थिए ।