जनकपुरधाम- टिकट नपाएर असन्तुष्ट बनेका जनता समाजवादी पार्टी, नेपालका मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष शेष नारायण यादव नेपाली काँग्रेसमा प्रवेश गर्दैछन् ।
यादवलाई धनुषा निर्वाचन क्षेत्र नं. ४ (क) बाट काँग्रेसले टिकट दिने भएपछि उनी जसपा छाडेर काँग्रेस प्रवेश गर्न लागेका हुन् । यादवसहित जसपाका प्रदेश कमिटीकै बजरंग यादव, डा. सत्रुघन यादव लगायतका नेता कार्यकर्ता पनि काँग्रेस प्रवेश गर्दैछन् ।



लोकतान्त्रिक विचारधारा भएको पार्टी कम्युनिस्टसँग गठबन्धन गरेर कम्युनिस्टमै पार्टी विलय हुन थालेपछि आफूहरूरु पार्टी परित्याग गरेर लोकतान्त्रिक विचारधारा भएको पार्टीमा प्रवेश गर्न लागिएको जसपा प्रदेश कमिटीका सदस्य बजरंग यादवले बताए । उनले विचारधारा नभएको पार्टी जसपा निर्वाचनपछि एमालेमा विलय हुने दावी समेत गरे । यधपी धनुषा ४(क) मा पुर्व आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञान कुमार यादवको उम्मेदवार फिर्ता गराएर शेष नारायण यादवलाई टिकट दिए पार्टीमै सम्पुर्ण टिम रहने उनीहरुको मन्साय छ ।
त्यस्तै जसपाका नेतृ एवं मधेस प्रदेशका पुर्व अर्थ राज्यमन्त्री उषा यादव पनि स्वतन्त्र उम्मेदवारी दिन थालेकी छिन् । त्यस्तै केन्द्रीय सदस्य अरुण सिंह, जिल्ला उपाध्यक्ष अम्भु साह लगायतका दर्जनौं नेताहरूले स्वतन्त्र उम्मेदवार दिने तयारीमा छन् ।
यादवसहितका नेता कार्यकर्तालाई आजै काँग्रेसका सह महामन्त्री महेन्द्र यादवले आफ्नै निवास लक्ष्मीनियामा पार्टी प्रवेश गराउने कार्यक्रम रहेको जनाइएको छ ।
यस क्षेत्रमा जसपाका कोर टिमलाई नै काँग्रेसले पार्टी प्रवेश गराउने पक्का भएपछि सह महामन्त्री यादवसहित प्रदेशमा पनि काँग्रेसको उम्मेदवार जित्ने सम्भावना प्रवल रहेको चर्चा हुन थालेको छ ।
जसपालाई जातिवाद र नातावादको ट्याग लाग्दै गरेको समयमा यो अवस्था सिर्जना हुनु भनेको मधेस प्रदेशमै विलय हुनु संकेत देखिएको राजनीति जानकारहरुको विश्लेषण छ ।




