
जनकपुरधाम- आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि यातायात कार्यालय बर्दिबासका निमित्त प्रमुखले प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
यातायात कार्यालय बर्दिबासका निमित्त प्रमुख पोषण थापाले पदबाट राजीनामा दिएर महोत्तरी क्षेत्र नम्बर–१ मा स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

उम्मेदवारी दर्तापश्चात उनले आइतबार आफ्नो राजीनामा स्वीकृत भइसकेपछि उम्मेदवारी दर्ता गराएको बताए ।
उनले भने, ‘जनता राजनीतिक दलहरुप्रति निराश रहेको अवस्थामा स्वतन्त्र व्यक्तिले मात्र राम्रो काम गर्न सक्ने भएकाले मैले स्वतन्त्र उम्मेदवारी दिएको छु ।’
आफूले बर्दिबास नगरपालिकाका मेयर प्रह्लाद क्षेत्री सहितका स्वतन्त्र युवाहरुको समर्थनमा उम्मेदवारी दिएको उनले बताए । स्वतन्त्रबाटै प्रदेश सभातर्फ महोत्तरी–१ को (क)मा युवराज पोखरेल र (ख)मा विनोद महतोले उम्मेदवारी दिएका छन् ।
प्रतिनिधि सभातर्फ महोत्तरी क्षेत्र नम्बर १ मा सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रका गिरिराजमणि पोखरेल र एमालेका लक्ष्मी महतोले उम्मेदवारी दिएका छन् ।