महोत्तरी – डा. सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले जनकपुरधाम खानेपानीका हाकिमलाई जनकारवाही स्वरुप हातपात गर्दै जनकपुर घुमाएका छन् ।धेरै बर्षाको कारण जनकपुरधाम जलमग्न भएपछि ढल निर्माणमा अनियमितता भएको भन्दै सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले नेपाल खानेपानी संस्थान जनकपुरधामका निमित्त प्रमुखलाई कुटपिट गर्दै नगर घुमाएका छन्।
दुई दिनकै वर्षामा पानीको निकास ढल भएर बग्न नसकेपछि जनमत पार्टीका नेताकार्यकर्ताले गुण्डाशैलीमा नेपाल खानेपानी संस्थान जनकपुरधामका निमित्त प्रमुख राजेश्वर कुश्वाहालाई कुटपिट गर्दै नगर परिक्रमा गराएका हुन्।
जनकपुरधामको रामानन्द चोकस्थित कार्यालयमा लाठीसहित पुगेका जनमत पार्टीका दर्जनौं कार्यकर्ताले कुश्वाहालाई जबरजस्ती कार्यालयबाट बाहिर निकालेर कुटपिट गर्दै नगर परिक्रमा गराएका थिए।
उनीहरुले निमित्त प्रमुख कुश्वाहाको कपडा च्यात्नुका साथै नालामा रहेको हिलो दलिदिएका थिए। निमित्त प्रमुख कुश्वाहालाई अर्धनग्न बनाएर डा. राउतका कार्यकर्ताहरु सहित जनकपुरकै स्थानीयहरुले कुटपिट गरी नगर परिक्रमा गराइरहँदा प्रहरी प्रशासन भने मुकदर्शक थियो ।जनमत पार्टीले खानेपानी सँस्थानमा ज्ञापन पत्र बुझाउँदै ढल निकासको उचीत व्यवस्थापनको लागि बारम्बार अपिल गरेको थियो । त्यसपछि जनमत पार्टीका कार्यकर्ताहरुले खानेपानी सँस्थानमा तालाबन्दी समेत गरेको थियो ।
यतिसम्म गर्दा पनि प्रमुख कुश्वाहाले विहिबार जनमत पार्टीका कार्यकर्ताहरुले जनकपुरमा ढल निकासको उचीत व्यवस्थापनको लागि योजनाको बारेमा सोध्न गएपछि उनीहरुसँग चर्को स्वरमा बोलेपनि प्रमुख कुश्वाहालाई समातेर नगर परिक्रमा गराएको छ ।
जनमत पार्टीको यो अवतारलाई समाजिक सँजालमा समर्थन पनि गरिएको छ भने विरोध समेत जनाइएको छ । एक सरकारी कर्मचारीलाई यो तवरले व्यवहार गर्नु उचीत नरहेको भन्दै विरोध गरिएको छ ।
यता, सोही समाजिक सँजालमा यस्ता कर्मचारीलाई यस्तै गरे मात्र भ्रष्टाचार न्यून हुने भन्दै जनमत पार्टीको समर्थनमा पनि युवाहरु उत्रेका छन् । जनमत पार्टीका कार्यकर्ताहरुले गरेको भौतिक जनकारवाहीलाई समर्थन पनि उत्तिकै गरिएको छ ।




