
जनकपुरधाम- मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि महोत्तरीमा २५८ मतदान स्थल र ४९९ मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
भारतसँग करिब ३९ किलोमिटर खुला सीमा जोडिएको महोत्तरीमा भौगोलिक अवस्थितिलाई दृष्टिगत गरी २५८ मध्ये १४३ मतदान स्थल अति संवेदनशील, ११४ संवेदनशील र एउटालाई मात्र सामान्यमा वर्गीकरण गरिएको प्रमुख जिल्ला अधिकारी दीपक पहाडीले जानकारी दिए।
भौगोलिक अवस्थिति, सामाजिक परिवेश, आपराधिक गतिविधि लगायतका आधारमा मतदान स्थल र मतदान केन्द्रलाई तीन तहमा वर्गीकरण गरी सोही अनुरूप सुरक्षा व्यवस्था भरपर्दो पारिएको जिल्ला सुरक्षा समितिले जनाएको छ ।
निर्वाचन तयारीसँगै सुरक्षा निकायले जनसम्पर्क समेत बढाउन थालेपछि जिल्लामा यसको अनुकूल प्रभाव देखिएको छ। प्रमुख जिल्ला अधिकारी पहाडीले निर्वाचन लक्षित सुरक्षा व्यवस्थाअनुसार सशस्त्र, नेपाल प्रहरी र नेपाली सेना सम्मिलित तीन तहमा सुरक्षा परिचालनको तयारी गरिएको बताए।
सुरक्षा बन्दोबस्तीमा निर्वाचन अधिकृतको कार्यालय र उम्मेदवारको सुरक्षा, आचारसंहिताको निगरानी लगायतका विषयलाई केन्द्रित गरी सशस्त्र प्रहरीको कमान्डमा सुरक्षा परिचालन गरिएको प्रजिअ पहाडीले जानकारी दिए।
महोत्तरीका प्रहरी प्रमुख एसपी कृष्णप्रसाद पङ्गेनीले वर्गीकरण गरिएको मतदान स्थलको आधारमा जिल्लाभरका चारवटै निर्वाचन क्षेत्रका मतदान स्थल र मतदान केन्द्रमा सुरक्षा बन्दोबस्त मिलाइएको जानकारी दिए।