
जनकपुरधाम- छठ पर्वको अवसरमा आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ। व्रतालुहरूले जलाशयमा पुगेर अस्ताउँदो सूर्यको आराधना गरेका छन्।

छठमा सूर्यदेवको उपासना गरिन्छ। मधेस प्रदेशको राजधानी जनकपुरधामका गंगासागर‚ धनुष सागर लगायत नदी/खोला किनार र पोखरीमा व्रतालुहरूले सूर्यलाई अर्घ्य दिएका छन्।

निर्जल र निराहार ब्रत बसेका व्रतालुहरुले अस्ताउँदो सूर्यलाई अर्घ दिएका हुन् ।

अर्घ दिँदै गर्दा व्रतालुहरुले सूर्यलाई आफ्नो मनोकांक्षा सुनाउँछन् र पूरा गरिदिन आग्रह गर्छन् । यस दिनलार्ई ‘सौँझकारक’ पनि भनिन्छ ।

भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व विधिवत् सम्पन्न हुनेछ ।

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजू देउवा राणा छठ पर्व हेर्न जनकपुरधाम आएकी छिन् । उनले जनकपुरधाम स्थित गंगासागर छठ घाटमा पुगेर छठी मैयाको पूजा अर्चना समेत गरेकी छिन् ।

मधेश प्रदेशमा भोली सार्वजनिक बिदा
मधेश प्रदेश सरकारले छठ पर्वको अवसरमा छठको अन्तिम दिन सार्वजनिक बिदा दिएको छ ।

संघ सरकारले छठको तेस्रो दिन अर्थात अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिने दिन बिदा मात्र दिएपछि प्रदेश सरकारले छठको अन्तिम दिन पारन दिन समेत प्रदेशमा बिदा दिने निणर्य गरेको छ ।

मुख्यमन्त्री लालबाबु राउतले छठ पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै प्रदेशमा सोमबार सार्वजनिक बिदा रहेको जानकारी दिएका छन् ।




