
जनकपुरधाम- नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष महेन्द्र राय यादव र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतो बीच प्रतिस्पर्धा हुने भएपछि सर्लाही क्षेत्र नं. २ को निर्वाचन रोचक हुने भएको छ।
रोचक यसकारण, यादव आवद्ध नेसपा र महतो आवद्ध लोसपा दुवै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी सहितको सत्ता गठबन्धनमा छन्।
देशका अन्य क्षेत्रमा तालमेल गरेको सत्तागठबन्धनका दुई दलबीच सर्लाही–२ मा भने ‘मित्रवत् प्रतिस्पर्धा’ हुने निर्णय नै भएको छ।
दुई शीर्ष नेता एउटै निर्वाचन क्षेत्रमा प्रतिस्पर्धी भएपछि सत्ता गठबन्धनको बुधबार (२६ असोज) को बैठकले सर्लाही–२ को आधिकारिक उम्मेदवार यादव रहेको विज्ञप्ति नै निकाल्नु परेको छ। २०७४ मा धनुषा–३ रोजेका महतोले यसपटक सर्लाही–२ नछाड्ने अडान लिएपछि यस्तो स्थिति आएको हो।
धनुषा रोजाइ : बाध्यताको उपज
कांग्रेसका तत्कालीन उपसभापति विमलेन्द्र निधिलाई हराउँदै धनुषा-३ मा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) का महतो २०७४ मा विजयी भएका थिए।
तर, त्यसबेला गृहजिल्ला सर्लाही छाडेर धनुषामा प्रतिस्पर्धा गर्नु महतोको बाध्यता थियो। खासमा दोस्रो संविधानसभा निर्वाचन–२०७० को प्रतिकूल परिणामका कारण सर्लाहीका महतो धनुषा जान बाध्य भएका थिए।
महतोले सद्भावना पार्टीको अध्यक्षका रुपमा २०७० को निर्वाचनमा सर्लाही–४ बाट प्रतिस्पर्धा गरेका थिए। तराई–मधेश सद्भावना पार्टी (तमसपा) का अध्यक्ष महेन्द्र यादवले पनि यही क्षेत्रमा प्रतिस्पर्धा गर्दै थिए।
तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) विभाजन गरी यादवले ‘तमसपा’ गठन गरेका थिए। एकातिर यादवको राष्ट्रिय व्यक्तित्व बनिसकेको थिएन, अर्काेतिर उनको दल तमलोपाबाट विभाजिन भएको दल थियो। यही कारण यादवको उम्मेदवारीलाई नजरअन्दाज गर्दै महतोले सर्लाही-४ बाट प्रतिस्पर्धा गर्ने निर्णय गरेका थिए।
तर, सर्लाही-४ को निर्वाचन परिणामले पुरै मुलुकलाई आश्चर्यमा पार्यो। महतोका लागि त त्यहाँको परिणाम स्तब्ध बनाउने खालको थियो।
निर्वाचनमा ११ हजार ५ सय ३४ मतकासाथ यादवले विजय हासिल गरे। ८ हजार ७ सय ९० मत प्राप्त गरी महतो यादवको निकटतम् प्रतिद्वन्द्वीमा सीमित भए।
एकातिर संविधान जारी भएपछि निर्वाचन क्षेत्र हेरफेरका क्रममा सर्लाही-४ का अधिकांश भूभाग सर्लाही-२ मा परे।
अर्कोतिर २०७४ मा आइपुग्दा मधेशवादी दलबीचको एकताका कारण यादव र महतो दुवै राष्ट्रिय जनता पार्टी (राजपा) मा पुगे। महतो र यादव दुवैजना राजपा अध्यक्षमण्डलमा पनि थिए।
२०७४ सम्म आइपुग्दा यादव र महतो एउटै दलका नेता भए पनि सर्लाही-२ ले फेरि दुईबीच मनमुटावको स्थिति ल्याउने देखियो।
यो पटक महतोले त्यही निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धा गर्न चाहे। २०७० मा महतोलाई पराजित गर्दै विजयी भएका यादवले पनि छाड्न चाहेनन्।
यादवले सर्लाही-२ नछाड्ने अडान लिएपछि राजपाले धनुषा-३ मा महतोलाई उम्मेदवार बनाउने निर्णय गर्यो।
उनी पछिल्लो निर्वाचनमा यादव २९ हजार १ सय ९१ मतका साथ विजयी भए। कांग्रेसका जंगीलाल यादव १८ हजार ९ सय ७६ मतका साथ निकटतम प्रतिद्वन्द्वी बने।
सर्लाही-२ मा यादव विजयी हुँदा महतो पनि धनुषा-३ मा पनि नेपाली कांग्रेसका विमलेन्द्र निधिलाई पराजित गर्दै विजयी भए।
महतो ३० हजार ७ सय ४२ मतका साथ विजयी हुँदा निकटतम् प्रतिद्वन्द्वी निधिले २७ हजार ८ सय २८ मत प्राप्त गरेका थिए।
मधेशी दलहरुबीचको विभाजनका कारण २०७४ मा जस्तो धनुषा-३ सहज नभएपछि महतो फेरि सर्लाही फर्केका हुन्।
तर, २०७० मा आफूलाई पराजित गरेका यादवलाई पराजित गरी सर्लाही–२ मा जीत हासिल गर्नु महतोका लागि यसपटकपनि सहज छैन।
महतोका पाँच चुनौती
जानकारहरुका अनुसार सर्लाही-२ मा विजय हासिल गर्न महतोका लागि ६ चुनौती छन्।
पहिलो चुनौती सत्तागठबन्धनले आफ्नो आधिकारिक उम्मेदवार यादवलाई घोषणा गरिदिनु।
सत्ताग ठबन्धनबाट माओवादी केन्द्रले प्राप्त गरेका ४७ निर्वाचन क्षेत्रमध्ये सर्लाही-२ पनि हो। डा. बाबुराम भट्टराईसँगै ‘नेसपा’ अध्यक्ष भए पनि माओवादीसँग एकता हुने पक्का भएकाले यादव त्यहाँ माओवादीकै चुनाव चिन्हबाट प्रतिस्पर्धा गर्दैछन्।
सत्तागठबन्धनसँग वार्ताका बेला लोसपाले सर्लाही–२ महतोका लागि दावी गरेको थियो। तर, माओवादीको भागमा परेकाले त्यो क्षेत्र लोसपाले पाएन। त्यसपछि त्यस क्षेत्रमा ‘मित्रवत् प्रतिस्पर्धा’ गर्ने सहमति सत्तागठबन्धन र लोसपाबीच भयो।
बुधबार (२६ असोज) को सत्तागठबन्धन बैठकले फेरि विज्ञप्ति नै जारी गरी सर्लाही–२ मा यादव नै आधिकारिक उम्मेदवार भएको प्रष्ट्याइसकेको छ।
महतोको दोस्रो चुनौती उनी उनी सर्लाही-२ को स्थायी बासिन्दा नहुनु हो। उनको आफ्नै गाउँ बबरगञ्ज हो, जुन सर्लाही-१ मा पर्छ।
त्यसो त, सत्तागठबन्धनका उम्मेदवार यादवको घर सर्लाही-१ कै बखतपुर हो। तर, यादव लामो समयदेखि सर्लाही-२ भारसरस्थित ससुराली घरमा बस्दै आएका छन्। यहीकारण सर्लाही-२ बासीले महतोलाई आफ्नै क्षेत्रको उम्मेदवार मान्ने गरेका छन्।
महतोको तेस्रो चुनौती उनले निर्वाचन क्षेत्र बदलिरहनु हो। बहुदलकालदेखि नै सर्लाहीबाट प्रतिस्पर्धा गरेका उनी २०७४ मा उनी सर्लाही छाडेर धनुषा पुगेका थिए।
‘राजपा उम्मेदवारको रुपमा सर्लाही-२ बाट यादवले प्रतिस्पर्धा गर्ने भएपछि महतोले सर्लाही १ वा ३ रोजेको भए यसपटक सर्लाहीमा चुनाव लड्न उहाँलाई सहज हुने थियो’, महतोनिकट एक नेताले भने, ‘तर, सर्लाही छाडेर धनुषा पुगेपछि उहाँको पहिचान ‘टुरिष्ट’ उम्मेदवार जस्तो बनेको छ।’
जानकारहरुका भनाइमा, सर्लाही–२ को जातीय सन्तुलन पनि महतोविरुद्धमा छ। त्यस क्षेत्रमा यादव मतदाता धेरै छन्। २०७० को निर्वाचनमा यादवले महतोलाई पराजित गर्नुको मुख्य कारण नै जातीय सन्तुलन थियो।
जातीय सन्तुलनका बावजुद अन्य जातका उम्मेदवारले मधेशका निर्वाचन क्षेत्रमा जित्दै नजित्ने होइनन्। तर, महतोका लागि यादवबहुल क्षेत्र किन चुनौतिपूर्ण मानिन्छ भने, २०६३–०६४ को मधेश आन्दोलनपछि सद्भावना पार्टीलाई अघि बढाए।
मधेशी जनअधिकार फोरम (मजफो) र तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) जस्ता आन्दोलनबाट उदाएका मधेशवादी दल हुँदाहुँदै मधेश आन्दोलनका कारण मृतप्राय सद्भावना पार्टीलाई पुनसंगठित गर्नुको भित्री कारण उनको यादवविरोधी रुझान भएको जानकारहरु बनाउँछन्।
हुन पनि उपेन्द्र यादव नेतृत्वको मधेशी जनअधिकार फोरम (मजफो) मा यादवहरुको वर्चश्व थियो। महन्थ ठाकुर नेतृत्वको तराई–मधेश लोकतान्त्रिक पार्टीमा मधेशी ब्राम्हण र कायस्थहरु।
सद्भावना पार्टीलाई संगठित गरेपछि गैरयादव–ब्राम्हण समुदायको नेताका रुपमा महतोको पहिचान बन्न थाल्यो।
‘२०६३–०६४ को मधेश आन्दोलनअघि पनि मधेशमा जातीय मनोविज्ञान नभएको होइन। तर, मधेश आन्दोलनपछि महतोले सद्भावना पार्टीलाई यादवविरोधी दलका रुपमा विकास गर्ने खोजे’ सर्लाहीका एक नेताले भने, ‘त्यहीकारण सर्लाही-२ बाट महतोले यादव मत प्राप्त गर्न अझै कठिन छ।’
त्यसो त, सत्तागठबन्धनबाट उम्मेदवार बनेका यादव पनि चुनौतीविहीन भने छैनन्। मुख्य चुनौती उनैबाट २०७४ मा पराजित कांग्रेस उम्मेदवार जंगीलाल राय हुन्। जो सत्तागठबन्धनबाट यादवले टिकट पाएपछि सन्तुष्ट छैनन्।-नेपालखबर