
जनकपुरधाम । मधेश प्रदेश सभाबाट सुविधामा लिएका गाडी अहिलेसम्म प्रदेशका सभामुखदेखि दलका नेता, प्रमुख सचेतक तथा संसदीय समितिका सभापतिहरुले अझै फिर्ता गरेका छैनन् । एक असोजमै दलका नेता, प्रमुख सचेतक तथा संसदीय समितिको कार्यकाल सकिए पनि उनीहरुले अझै सुविधामा पाएका गाडी मै आफ्ना चुनावी प्रचार प्रसार गरिरहेका छन् । प्रदेश सभामुख र उपसभामुखको कार्यकाल पनि असोज २२ गते नै सकिएको छ ।
सभामुख, उपसभामुख बाहेक दलका नेता, प्रमुख सचेतक र संसदीय समितिका सभापति गरी १४ जनाले मधेश प्रदेश सभाबाट गाडीका सुविधा लिएका छन् । तर अहिलेसम्म नेकपा एमालेका प्रमुख सचेतक किशोरी साह (कमल) र कृषि तथा भूमि व्यवस्थापन समितिका सभापति मदन सेन श्रीवास्तव, लोसपाका प्रमुख सचेतक परमेशवर साह, नेपाल संघीय समाजवादी पार्टीका संसदीय दलका नेता सावित्री देवी साह र प्रदेश मामिला समितिका सभापति अशोक यादवले मात्रै सुविधामा लिएका गाडी प्रदेशसभा सचिवालयमा फिर्ता गरेका छन् ।
बारा निर्वाचन क्षेत्र नम्बर १ को ‘ख’ बाट प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएका सभामुख अहिले पनि सुविधामा लिएका सरकारी गाडी प्रदेशसभा सचिवालयमा बुझाएका छैनन् । त्यसैगरी, २०७४ सालको निर्वाचनमा जसपाको कोटामा सप्तरीबाट समानुपातिक कोटामा प्रदेशसभा सदस्य भइ उपसभामुख भएकी उपमा देवले पनि अझै सुविधामा पाएकी गाडी फिर्त गरेकी छैनन । त्यसैगरी, लोसपाका संसदीय दलका नेता तथा प्रदेशका पूर्व मन्त्री जितेन्द्र सोनलले प्रदेशसभा सदस्यमा बारा निर्वाचन क्षेत्र नम्बर ४ को ‘ख’ बाट उम्मेदवारी दिएका छन् । तर सोनलले प्रदेश सभाबाट सुविधामा लिएका गाडी भने अझै फिर्ता गरेका छैनन् । उनी सरकारी गाडीमै आफ् ना चुनावी प्रचार प्रसारलाई तीव्रता दिएको स्थानीयहरुले बताएका छन् ।
नेकपा एमालेका नेता सत्यनारायण मण्डलले पनि अझै गाडी फिर्ता गरेका छैनन् । यस निर्वाचनमा उनलाई पार्टीले टिकट नदिएको बताइन्छ । त्यसैगरी, जनता समाजवादी पार्टीका प्रमुख सचेतक शैलेन्द्रप्रसाद यादव धनुषा निर्वाचन क्षेत्र नम्बर २ को ‘क’ बाट प्रदेश सभामा उम्मेदवारी दिएका छन् । तर उनी प्रदेशसभाबाट सुविधामा पाएका सरकारी गाडी फिर्ता नगरी दुरुप्रयोग गर्दै आएका छन् । नेकपा एकीकृत समाजवादी पार्टीका प्रमुख सचेतकको रुपमा करिव डेढ वर्ष अघि प्रदेशसभाबाट गाडीको सुविधा लिएका सुन्दरवहादुर विश्वकर्माले पनि अहिलेसम्म गाडी फिर्ता गरेका छैनन् । टिकटका लागि उनी उम्मेदवारी अघि नेकपा एस छोडेर नेकपा एमालेमा प्रवेश गरिसकेका छन् । तर एमालेले पनि उनलाई टिकट नदिएपछि उम्मेदवार बन्न पाएनन् ।
त्यस्तै,अर्थ तथा योजना समितिका सभापति तथा जनता समाजवादी पार्टीका प्रवक्ता मनिष सुमनले पनि सभाबाट सुविधामा पाएका सरकारी गाडी फिर्ता नगरेको प्रदेशसभा सचिवालय सचिव रंजित यादवले बताए । सुमन जसपाका समानुपातिक उम्मेदवार हुन् । त्यसैगरी, सार्वजनिक लेखा समितिका सभापति तथा नेपाली कांग्रेसका नेता नरेश प्रसाद यादव र प्राकृतिक श्रोत तथा वातावरण समितिका सभापति तथा माओवादी केन्द्रका नेता जगत प्रसाद यादवले पनि सुविधामा पाएका गाडी फिर्ता गरेका छैनन् ।
दुबैले पार्टीबाट यस निर्वाचनमा गठबन्धनका कारण टिकट पाएका छैनन् । त्यसैगरी, महिला बालबालिका तथा सामाजिक न्याय समितिका सभापति जयनुल राईन महोत्तरी निर्वाचन क्षेत्र २ को ‘ख’ मा लोसपाबाट उम्मेदवारी दिएका छन् । तर उनले पनि अहिलेसम्म गाडी फिर्ता नगरेको प्रदेशसभा सचिवालयले जनाएको छ । जसपाको कोटामा प्रदेशसभाको विकास समितिका सभापति डा.रिना यादवले पनि गाडी फिर्त गरेकी छैनन् ।
अहिले उनी जसपा छोडेर नेकपा एमालेमा प्रवेश गरी महोत्तरीबाट समानुातिक कोटामा उम्मेदवार छिन् । यता, प्रदेश सभामुख सरोज कुमार यादवले आफूहरुको कार्यकाल नसकेकोले आफूहरुले गाडी फिर्ता नगरेको दाबी गरे । संविधान अनुसार हाम्रो कार्यकाल अवधि माघसम्म रहेको बताउँदै सभामुख यादवले भने,‘ हाम्रो कार्यकाल सकेको अहिलेसम्म कसैले जानकारी गराएको छैन । संविधान अनुसार हाम्रो कार्यकाल अवधि माघसम्म हो ।
तयसकारण गाडी फिर्ता गरेको छैन ।’ एक जिज्ञासामा उनले भने,‘ सरकारी गाडीमा प्रचारप्रचार गर्न सकिदैनन, त्यो दुरुप्रयोग हो । तर सुविधामा पाएको समान राख्न त सकिन्छ नि ।’ यता, प्रदेशसभा सचिव रंजित यादवले सांसदहरुको कार्यकाल वारे आफू अन्योलमा रहेको बताए । उनले संविधान अनुसार सांसदहरुको कार्यकाल अझै वाँकी छ, उनले भने, त्यसकारण आफूले अहिलेसम्म कसैसँग गाडी फिर्ता मागेका छैनौ ।
कतिपय सांसदहरु आफै गाडी फिर्ता गरेका छन् ।’ एक प्रश्नमा उनले भने,‘ असोज महिनाको उहाँहरु तलब पाउनु हुन्न् । कार्यकाल सकिएको बारेमा निर्वाचन आयोग वा कानून मन्त्रालयबाट अहिलेसम्म कुनै पत्र नपाएकोले गाडी फिर्ता गर्न भनेका छैनौ ।’