जनकपुरधाम- नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले आगामी निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई निर्वाचित गराउन कार्यकर्ताहरूलाई आग्रह गरेका छन्।
बिहीबार जनकपुरधाममा दीपावली तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै निधिले गठबन्धनका उम्मेदवारलाई निर्वाचित गराउन भूमिका खेल्न आग्रह गरेका हुन्।
उनले कांग्रेस र आफूले समर्थन गरेको उम्मेदवार नजिते कांग्रेस कार्यकर्ताहरू दोषी ठहरिने जिकिर गरे।
‘अघिल्लो चुनावमा मलाई हराउन आउनुभएको थियो, यसपटक उहाँलाई म जिताउन आएको छु,’ धनुषा ३ मा गठबन्धनका तर्फबाट लोसपाका उम्मेदवार अनिल झातर्फ संकेत गर्दै निधिले भने,‘कांग्रेस र विमलेन्द्र निधि समर्थित उम्मेदवार नजिते कांग्रेस कार्यकर्ताहरू दोषी हुनेछन्। उहाँहरू जिते सबैले जस पाउनु हुनेछ।’
निधिले यो जित लोसपाभन्दा कांग्रेसका लागि हुने बताए।
उनले भने,‘यो जित लोसपाभन्दा कांग्रेसका लागि हुन्छ। क्षेत्र नम्बर ३ का कांग्रेसीहरूले अरू दलका उम्मेदवारलाई पनि जिताएर पठाएको कुरा इतिहासमा दर्ज हुनेछ।’
उनले मतदानका बेला कुनै पनि बेइमानी नगरेर गठबन्धनका उम्मेदवारलाई निर्वाचित गराउन कार्यकर्ताहरूलाई निर्देशन दिए। ‘मतदानका बेला कुनै पनि बेइमानी नगर्नुस्। प्रतिष्ठाको विषय बनाएर गठबन्धनका उम्मेदवारहरू निर्वाचित गराउनुस् मेरो आग्रह छ।’
‘एक हातमा सिन्दुर अर्को हातमा नागरिकता सम्भव नहुने’ नागरिकता विधेयकप्रति एमालेले गरेको टिप्पणी घृणायोग्य रहेको उनले बताए।
उनले भने, ‘विवाहजस्तो विषयमा घृणात्मक टिप्पणी गर्ने एमाले पार्टी र उसको नेताले सिन्दुरको महत्व नबुझेको प्रष्ट भएको छ,’ उनले भने,‘जुन पार्टीको नेताले सिन्दुरको महत्व बुझेका छैनन् त्यस्ता उम्मेदवार र नेतालाई भोट दिएर के फाइदा?’


