
जनकपुरधाम ।
केरवा ज फरल घउरस वोपर सुगा मडराय ।
मारबौ रे सुगवा धनुषस सुगा गिरे मुरझाय ।।
अर्थात छठ मातालाई चढाउने फलफूल जुठो हुनुहुँदैन । छठ मातालाई चढाउने केरा सुगाले नखाऊँन् भनेर गीतबाटै सचेत गराउन खोजिएको हो ।
अहिले जनकपुर सहित सम्पूर्ण तराई मधेसको शहर बजारमा यस्ता लोकगीतको सुमधुर स्वर गुञ्जिएको सुनिन्छ । चार दिवसीय छठ पर्वको आज देखि विधिवत शुभारम्भ भएको छ।
छठ पर्वको पहिलो दिन आज शुक्रवार व्रतालुहरुले नहाखाए अर्थात नुहाएर मात्र चोखो बस्त्र धारण गरेर बिना प्याज, लसुनको अरबा चामल सेवन गरेका छन् ।
श्रद्धा, भक्ति र सम्पूर्ण तराईको साझा सांस्कृतिक प्रतिबिम्बको रुपमा मनाइने छठ पर्व आज शुक्रवार देखि धार्मिक परम्पराअनुसार हर्षोल्लासका साथ मनाइँदैछ ।
चार दिवसीय छठ पर्वको पहिलो दिन अर्थात् चतुर्थीका दिनलाई ‘अरबा–अरबाइन’ वा नहा खाय भनिन्छ । यो दिनमा व्रतालुहरुले खोला, नाला, नदी, पोखरी र तलाउ लगायतका जलाशयमा गई नुहाइधुवाई गरेर शुद्ध भई चोखो खाना खाने गर्छन् । व्रतीले भोजनमा माछामासु, लसुन, प्याज र कोदो जस्तो वस्तु परित्याग गरी यसै दिनदेखि व्रत बस्न थाल्छन् । यो दिनलाई व्रतालुहरुले आँखा पनि भन्ने गर्छन् ।

पञ्चमी तिथि (दोश्रो दिन) लाई ‘खरना’ (संरक्षण अर्थात् पापको क्षय) भनिन्छ । खरना छठ पर्वको अघिल्लो दिन भएकाले यो दिन व्रतालुहरु दिनभरि निर्जला व्रत बस्छन् र साँझ पख नुहाएर चोखो भई आफ्नो कुल देवता स्थापना गरेको पूजा कोठामा नयाँ चुलो स्थापना गरी प्रसाद बनाउने गरिन्छ । प्रसादका रुपमा विशेष गरी पाकेको केरा र खीरलाई लिने गरिन्छ । त्यसपछि गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरेर व्रतीले राति चन्द्रोदयपछि चन्द्रमालाई पायस (खीर) चढाई सोही प्रसाद ग्रहण गर्छन् । यस दिनपछि व्रतीले पूर्ण व्रत लिनुपर्दछ ।
षष्ठीका दिन (तेश्रो दिन) गहुँ र चामल ओखल, जातो वा ढिकीमा कुटान–पिसान गरी त्यसबाट निस्केको पिठोबाट विभिन्न गुलियो खाद्य सामग्री बनाइन्छ । छठ पूजाका सामग्री तयार पार्दा विशेष चनाखो हुनुपर्छ । पूजाका सामग्री चोखो र शुद्ध हुनुपर्दछ, जुठो हुन गएमा अनिष्ट हुने जनविश्वास छ ।

पर्वको चौथो दिन (अन्तिम दिन) लाई पारन (पार्वण) भनिन्छ । यस दिन बिहान उषाकालमा व्रत लिनेहरू पुन: जलाशयमा पुगी अघिल्लो दिन गरेको क्रम दोहोर्याई प्रात:कालीन सूर्यलाई अर्घ दिई पर्वको समापन गरिन्छ ।
अर्घ सम्पन्न भएपछि सूर्य पुराण श्रवण गर्ने चलन छ । व्रतीले छठ व्रतको कथा सुन्छन् र सुनाउँछन् । यस पर्वमा यथासम्भव टुप्पोमा पात भएको चारवटा उखुलाई गाडेर त्यसभित्र पूजा गर्ने चलन पनि रहेको छ । प्रात:कालीन अर्घमा दीप मालाले सजिएका जलाशयमा अपूर्वको अनुभूति पनि प्राप्त हुन्छ ।
सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराईवासीको महान् चाड हो, छठ पर्व । तराईका सबै जातजातिले साझा रुपमा मनाउने यस पर्वको विशेषता हो । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो जसमा अस्ताउदो र उदाउदो सूर्यलाई पूजा गरिन्छ । यस पर्वमा चाहिने भाडाकुँडा वस्तुजातको बन्दोबस्त तराईमा एक महिना अगाडिदेखि नै गर्न थालिन्छ ।
छठ पूजाको लागि अहिले जनकपुर सहित सारा मिथिलाञ्चल झकिझकाउ हुने गरि नव बेहुली झै श्रृंगारिने कार्य जारी रहेको छ।
श्रद्धालुहरुले जनकपुरको इतिहासमा वर्णित सरोवर गङ्गासागर, धनुषसागर, रामसागर, रत्नसागर, विहारकुण्ड, रूकमिणी सरोवर, अरगजा, महाराजसागर र अग्निकुण्ड लगायतका कुण्ड, पोखरी, तलाउमा छठ पर्व मनाउने गर्छन्।
दिपावली तिहारको रौनक नसक्दै यहाँ पवित्र छठ पर्वको तयारीको चटारो लाग्ने गर्दछ । चोक चौराहादेखि घरघरबाट छठ गीतको धुनले पुरै शहर छठमय मुडमा प्रवेश गरिसकेको संकेत गर्छ ।

विशेषगरी आराध्यदेव सूर्यको उपासना गरिने छठ पर्व निक्कै उत्साह र भक्तिभावका साथ मनाइन्छ । घरदेखि टाढा परदेशमा रोजगारी वा उच्च शिक्षा अध्ययनका लागी विदेशिनेहरु समेत घरआँगनमा छठको रौनक सम्झिएर घर फर्किन्छन् । छठ पर्व प्रकृति प्रति कृतज्ञता व्यक्त गर्ने माध्यम पर्व समेत हो ।
यो पर्वमा सूर्यलाई साक्षी राखेर खुला आकाशमुनि किसानले वर्षभरि मिहिनेत गरेर उब्जाएको अन्नबाली सूर्यदेवलाई अर्पण गर्दै उनी प्रतिको अगाध आस्था प्रकट गर्छन्। पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा मनोकामना पुरा गर्न सूर्यको उपासना गरी यो पर्व मनाइन्छ ।
अहिले तराई मधेसमा हाट, बजार, सडक र गल्लीहरु छठ पूजाका लागि आवश्यक पर्ने पूजा सामाग्री, माटोबाट बनाइएको कलश, दियो, हात्ती, बाँसको चोयाबाट बुनिएको परम्परागत भाँडाकुँडा नाङ्गलो, दाउरा, सुपली, छैंटी, ढकनीबाट सजिएका छन् ।
उखू, केराउ, अदुवा, केरा, मुला लगायतका कृषि उपजका साथै सख्खर मिसाएर बनाइएको गुलियो खिर, गहुँको पीठोबाट बनाइएको परम्परागत बुट्टे ठेकुवा, चिनीको चास्नीबाट बनाइएको बतासाले यहाँको भान्छा, भूमीसँग जोडिएको जनजीविका र जन स्वास्थ्यको त्रिकोणात्मक सम्बन्धलाई झल्काइ रहेको हुन्छ।
सडक छेउमा लगाइएका बजारले तराईको संस्कृति, कृषि र विविधताले भरिपूर्ण यहाँको समाजबारे अध्ययन गर्ने खुल्ला संग्राहलयकै काम गरि रहेको प्रतित हुन्छ ।
छठ पर्वका लागी माटाको भाँडाकुँडा कुम्हालेले बनाउँछन् भने बाँसको चोयाका भाँडाकुँडा दलित समुदायको डोम जातीले बुन्छन् । अरुबेला हेयको पात्र बनाइने गरेको डोम समुदायले बुनेको बाँसको नाङ्लो, डगरा, सुपलि, छैटी, बेना(हाते पंखा) छठ पर्वका लागी नभइ नहुने हस्तकला सामाग्री हुन् ।
त्यस्तै जातिय राजनीतिलाई नै सफलताको भर्याङ बनाएर सत्ताको न्यानो ताप्न चाहने क्षेत्रिय राजनीतिले एक अर्को समुदायबीच वैमनस्यताको विष घोल्ने प्रयासलाई निरन्तरता दिइ रहेका छन् । उनीहरुलाई राष्ट्रिय हितभन्दा पनि दलित र अझ बढी व्यक्तिगत स्वार्थ सर्वोच्च भएकाले सामाजिक सहिष्णुता उनीहरुका लागी अपाच्य हुन्छ। कहिले जातका नाममा, कहिले संस्कृतिका नाममा, कहिले रंगभेदको नाममा, कहिले भूगोलका नाममा केही दलहरुले समाजलाई विभाजित गर्ने प्रयास जारी राखि रहँदा छठ पर्वमा जात, धर्म, क्षेत्रियतालाई ओझेलमा पार्नेगरी फरक फरक समुदायका अनुहारहरु जलाशयमा डुबुल्की लगाउँदै सूर्यदेवको उपासना गरिरहेको हुन्छ।
मूलरुपमा मधेशी समुदायको मुख्य पर्वका रुपमा मानिदै आएको यो पर्व मनाउनेको भीडमा सिउँदोदेखि नाकको टुप्पा समेत ढाकिने गरी सिन्दुर लगाएर साडीको आँचलले शिर छोपेर आराधनामा व्यस्त पहाडी समुदायका गृहणी उल्लेख्यरुपमा देख्दा समाजको मीठो तस्वीरले जोकोहीको मन छुन्छ।
त्यसैगरी रोजगारीको ठूलो बजार मानिएको संघिय राजधानी काठमाडौंबाट दशैं मान्न मोफसल फर्किनेको लर्को लाग्दा छठ पर्वलाई नै मुख्य पर्व मान्ने तराईवासीले राजधानीको जनजीवन सहज बनाइ दिइरहेका हुन्छन् । जब दसैं मान्नेहरु सबैतिरबाट काठमाडौं फर्किन्छन् तब कामको जिम्मेवारी हस्तान्तरण गरेर छठ पर्वका लागी तराई मूलका व्यापारी, कर्मचारी, मजदुर, विद्यार्थी पोकोपन्तरो कसेर घरतर्फको यात्रा गर्ने हतारोमा हुन्छन् ।
सामाजिक विविधताले भरिएको हाम्रो समाजको चक्रलाई एउटा समुदायले अर्को समुदायलाई जिम्मेवारी हस्तान्तरण गर्दै रिले ओलम्पिक खेलमा झैं यसरी नै यात्रालाई निरन्तरता दिइरहेको हुन्छ।
तराईवासी मधेसी समुदाय मुख्य पर्वको रुपमा रहेको यस छठ पर्व अहिले पछिल्लो समय आएर पहाडी समुदाय मात्र नभएर मुश्लिम धर्माबलम्बीहरुले समेत आस्था र भक्तिपूर्वक मनाउने गरेको देखिन्छ । यस पर्वको अर्को विशेषताको रुपमा सबै जात जाती, ठूला साना, धनि,गरिब सबै एकै ठाउँमा जम्मा भएर पूजा अर्चना गर्नु पनि हो । यस कारण वर्षौ सम्म भेटघाट नभएकाहरु बोलचाल नभएकाहरुसंग पनि भेटघाट तथा वार्तालाप हुने हुन्छ ।
तसर्थ छठ पर्व सबैको मन जोड्ने सेतुको रुपमा मान्न सकिन्छ ।