
जनकपुरधाम- मिथिलाञ्चलको महान चार दिवसीय छठ पर्व आज बिहान उदाउँदो सूर्यको अर्घ्य दिँदै विधिवत सम्पन्न भएको छ।

शुक्रवार नहाँखाय अर्थात नुहाएर खाने विधिबाट सुरु भएको छठको दोश्रो दिन खरना र तेश्रो दिन आइतबार साँझ अस्ताउँदो सूर्यको अर्घ दिइएको थियो भने आज अन्तिम दिन जलासय किनारमा पूजासामग्री सहित ब्रतालुले आदिदेव सूर्यको अर्घ्य दिएपछि छठ सम्पन्न भएको हो ।

चारदिनसम्म अत्यन्त निष्ठापूर्वक मनाइने छठ पर्वको आज अन्तिम दिनलाई ‘पारन’ भन्ने गरिन्छ ।

सन्तान एवं पारिवारिक सुख समृद्धिको कामना गर्दै अत्यन्त श्रद्धापूर्वक र भक्ति पुर्वक छठ पर्व मनाइन्छ ।

अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिन पोखरी, नदी, इनार लगायतको जलासय किनारमा हिजो दिउँसोदेखि नै पूजा सामग्री सहित श्रद्धालु तथा ब्रतालु पूजा आराधना गरि बसेका थिए ।

छठ पर्वमा बाँसको ढाकी, डग्री, माटोको कोसिया कुरबार, हाती लागयतको सामग्रीहरु चढाईन्छ । त्यस्तै प्रसादको रुपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा एवं विविध प्रकारको मिठाई तथा फलफुल सूर्य देवता अर्थात दिनानाथलाई चढाउने गरिन्छ ।

अर्घ दिने ब्रतालु ४८ घन्टासम्म पानी पनि नखाई उपवास बस्ने गर्दछन् । छठ पर्वमा सूर्य भगवान अर्थात दिनानाथलाई अर्घ्य दिन तयार गरिने परिकारहरु अत्यन्तै नियम निष्ठापूर्वक गर्नुपर्ने भएकाले छठलाई निष्ठा र कठोर पर्वको रुपमा मानिन्छ ।

छठ पर्वको अवसरमा मधेस प्रदेशको राजधानी जनकपुरधामको धार्मिक तथा ऐतिहासिंक पोखरी तलाउ गंगासागर, धनुसागर, अंगराजसर, दशरथ तलाउ लगायतको पोखरीहरुलाई नवबेहुली झै सजाइएर विशेष रुपले छठ मनाउने गरिन्छ ।

पोखरी, तलाउ र नदीको घाटमा छठ गर्नेहरु अस्ताउँदो सूर्यलाई अर्घ दिन लगेको पूजा सामग्री सहित रातभर जग्राम बसेर श्रद्धाभक्ति पूर्वक पूजाअर्चना गरी भोली पल्ट विहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि मात्र पूजा सामग्री लिएर घर फर्कन्छन् ।
छठ पर्वलाई समाजिक सद्भाव एवं एकताको पर्वको रुपमा पनि लिइन्छ ।

पहिले तराई मधेसका मधेसी समुदायले मात्र मनाउने छठ पर्व हिजोआज पहाडका पहाडी समुदाय लगायतले समेत मनाउन थालेका छन् ।

आज मधेश प्रदेशमा सार्वजनिक बिदा
छठ पर्वको अवसरमा मधेश प्रदेश सरकारले आज सार्वजनिक विदा दिएको छ । मिथिलाञ्चल सहित तराइ मधेशको महापर्वको रुपमा छठ मनाउने गरिएकोले मधेश सरकार आजको दिन बिदा दिँदै आएको छ ।