भारतको गुजरातस्थित मोरबीमा झोलुंगे पुल दुर्घटना हुँदा १९० जनाको मृत्यु भएको छ।
जसमध्ये २५ जना बालबालिका छन्। मृत्यु हुनेमा महिला र वृद्धवृद्धा बढी छन्। १७० जनाको भने उद्धार गरिएको छ।
७ सय ६५ फिट लामो र जम्मा ४ दशमलव ५ फिट चौडा झोलुङ्गे पुल आइतबार साँझ ६:३० बजे दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले लेखेका छन्। १४३ वर्ष पुरानो पुल ब्रिटिस शासनकालमा बनेको थियो।
यो पुल ६ महिनादेखि बन्द थियो। केही दिनअघि मात्र मर्मत गरिएको थियो। पुल दुर्घटना हुनुभन्दा ५ दिन अगाडि अक्टोबर २५ मा सर्वसाधारणका लागि खुला गरिएको थियो। आइतबार यहाँ क्षमताभन्दा बढी भीड भएको थियो। जसका कारण पुल चुँडिएको अनुमान गरिएको छ।
दुर्घटनाको ३० सेकेण्डको भिडियो पनि सार्वजनिक भएको छ। जसमा १५ सेकेण्डपछि पुल भाँचिएर मानिसहरु खोलामा डुबेका थिए।
पुल निर्माण भएयता पटक पटक मर्मत गरिएको थियो। हालै दीपावलीअघि दुई करोडको लागतमा मर्मतको काम भएको थियो। मोरबीका भाजपा सांसद मोहन कुण्डरियाका अनुसार पुल भत्किँदा मानिसहरू खसेको ठाउँमा १५ फिट गहिराइसम्म पानी छ। कतिपय मानिस पौडी खेलेर बाहिर निस्किए पनि धेरै मानिस त्यही पानीमा डुबेका थिए।
सडक तथा भवन विभागका मन्त्री जगदीश पञ्चालले यो पुल नगरपालिकाको मातहतमा रहेको बताएका छन्।
पुलको क्षमता एक सय जना रहेको निगमका अधिकारीले बताए पनि आइतबार बिदाको दिन भएकाले दुर्घटना हुँदा पुलमा चार सयदेखि पाँच सय मानिस भेला भएका थिए। जसका कारण पुल बीचमै चुँडिएको हो।




