धनुषा- जयनगर–कुर्था रेलमार्गमा यही कात्तिक २१ गतेदेखि तीन दिन यात्रुको सुविधाअनुसार अनटाइम्ली (निर्धारित सिफ्टभन्दा बाहेक) रेल सेवा सञ्चालन गरिने भएको छ ।
कार्तिक पूर्णिमाको अवसरमा कमला नदीमा नुहाउन आउने तीर्थालुहरूको सुविधालाई दृष्टिगत गरी नेपाल रेल्वे कम्पनीले कात्तिक २१, २२ र २३ गते यात्रुको सुविधाअनुसार अनटाइम्ली रेल सेवा सञ्चालन गरिने जनाएको छ ।



नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक निरञ्जनकुमार झाले सूचना जारी गरी कार्तिक पूर्णिमाको अवसरमा कमला नदीमा नुहाउन आउने तीर्थालुहरूको सुविधालाई ध्यानमा राखेर कात्तिक २१ देखि २३ गतेसम्म जयनगर–जनकपुरसम्म अनटाइम्ली सेवा सञ्चालन हुने जानकारी दिएका छन् ।
कार्तिक पूर्णिमामा कमला नदीमा स्नान गर्न ठूलो सङ्ख्यामा नेपालका विभिन्न स्थानबाट तथा भारतीय सहरबाट समेत तीर्थालु आउँदा सो तीन दिन यात्रुको चाप बढ्नसक्ने भएकाले रेल सेवा अनटाइम्ली गरिएको प्रबन्ध सञ्चालक झाले बताए। “जतिबेला यात्रु आउँछन्, त्यतिबेला नै रेल चलाउँछौँ”, उहाँले भन्नुभयो, “यात्रुको सुविधाकै लागि हामीले यस्तो निर्णय लिएका हौँ, तीन दिन यात्रुलाई यातायातको कुनै समस्या हुन दिँदैनौँ, रेल अनटाइम्ली चलाउँछौँ”, उनको भनाई थियो ।
जयनगरबाट महोत्तरीको बर्दिबाससम्म ७० किलोमिटर निर्माणाधीन रेलमार्गमध्ये जयनगरबाट कुर्थासम्म ३५ किलोमिटर रेलमार्गमा गत २०७८ चैत २० गतेदेखि नियमित रेल सेवा सञ्चालन हुँदै आएको छ । सो मार्गमा चल्ने रेल सेवाको गत २०७८ चैत २० गते नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हरियो झण्डा देखाएर जयनगर–कुर्था रेलमार्गमा रेल सेवाको शुभारम्भ गरेका थिए । त्यसयता निर्धारित समयतालिकाअनुसार नै नियमित रेल चल्दै आएको प्रबन्ध सञ्चालक झाको भनाइ छ ।
लामो समयदेखि रेल चल्ने सुने पनि थन्किएको रेल देख्दै आएका धनुषावासी नियमित सञ्चालित रेल देखेर दङ्ग छन् । रेल चल्न थालेसँगै यहाँको पर्यटन, धार्मिक क्षेत्रको विकास हुने र स्थानीय उत्पादनको निर्यात बढ्ने स्थानीयको विश्वास छ ।
रेल रोकेर यात्रु चढाउन र झार्नका लागि कुर्था, परवाहा, बैदेही, महिनाथपुर, खजुरी, इनर्वा र जयनगरमा स्टेशन छन् । रेल सञ्चालनका लागि हाल २६ भारतीय र ५९ नेपाली कर्मचारी कार्यरत रहेको कम्पनीले जनाएको छ । भारतीय कर्मचारीमा खासगरी चालक दलका र केही इञ्जीनियर रहेको प्रबन्ध सञ्चालक झाले जानकारी दिए ।




