महोत्तरी। सत्तारूढ पाँच दलीय गठबन्धनले महोत्तरीको गौशालामा संयुक्त विशाल र्याली प्रदर्शन गरेको छ। गठबन्धन दलका नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीको तर्फबाट गौशालामा विशाल र्याली प्रदर्शन गरेको हो। पूर्व मन्त्री तथा महोत्तरी क्षेत्र नं. १ का प्रतिनिधिसभा उम्मेदवार गिरिराजमणि पोखरेलले संविधान, लोकतन्त्र र समावेशी, समानुपातिक, दलित अल्पसंख्यक, जनजातिको अधिकार र परिवर्तनको रक्षाका निम्ति गठबन्धनलाई मत दिन आवश्यक रहेको बताएका थिए।
उनले भने, ‘केपी ओलीले संविधान मास्न खोजे, लोकतन्त्रको हत्या गर्न खोजे, जनयुद्ध, जनआन्दोलन र मधेश आन्दोलनबाट प्राप्त उपलब्धीलाई मास्न खोजे, त्यसैले हामीले ओलीलाई बालुवाटारबाट बालकोट पुर्यायौं।’ उम्मेदवार पोखरेलले दुई-दुई पटक संविधान भत्काउन खोज्ने ओलीलाई सतहीमा ल्याउने मौका निर्वाचन नै भएकाले प्रतिगमन र अग्रगमन संघर्षमा देश र जनताको हितमा रहेको पाँच दलीय गठबन्धनको उम्मेदवारलाई मत दिन आग्रह गरे।
महोत्तरी १ (ख) प्रदेशसभाका उम्मेदवार भरत प्रसाद साहले गौशालाको विकासका लागि नेपालमै पहिलो पटक रेल्वे इन्जिनियरिङ कलेजको पढाइ गौशालामा हुन लागेको अधुरो काम पूरा गर्नका लागि भएपनि गठबन्धनको साझा उम्मेदवारलाई जिताउन आग्रह गरे।