
जनकपुरधाम- धनुषा क्षेत्र नम्बर ३ मा यसपटक मुख्य रुपमा दुई पक्षीय प्रतिस्पर्धा देखिएको छ। धनुषाको यो क्षेत्र निवर्तमान सांसद राजेन्द्र महतोको क्षेत्र हो भने विमलेन्द्र निधिका बुवा महेन्द्र नारायण निधिदेखि विमलेन्द्र निधि सम्मले पटक-पटक निर्वाचन जित्दै आएको क्षेत्र हो ।
पाँचदलीय गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता अनिल झा र विपक्षी गठबन्धन नेकपा एमालेबाट नेतृ जुलीकुमारी महतोको उम्मेदवारी परेको छ । यी दुबै निवर्तमान प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री हुन् ।
त्यसैगरी सत्तारुढ गठबन्धनको तर्फबाट प्रदेश सभातर्फ धनुषा ३ (क)मा नेपाली कांग्रेसका निवर्तमान मन्त्री रामसरोज यादव र ३ (२) मा लोसपाका प्रमुख सचेतक तथा धनुषा जिल्ला अध्यक्ष समेत रहेको परमेश्वर साहले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यसैगरी एमाले-जसपा गठबन्धनबाट प्रदेश सभा तर्फ धनुषा ३ (क)मा प्रदेशसभाका लागि मुख्यमन्त्रीका स्वकीय सचिव तथा जसपा नेता जितेन्द्र यादव र धनुषा ३ (ख) मा एमालेबाट दीपेन्द्र ठाकुरले उम्मेदवारी दर्ता गराएका छन्।
जुली यस क्षेत्रका लागि नयाँ अनुहार होइनन् । २०७० को दोश्रो संविधानसभा निर्वाचनमा उनि कांग्रेस नेता विमलेन्द्र निधिसँग पराजित भएका थिए भने २०७४ मा समानुपातिक सांसद भएकी थिईन् ।
२०७४ का दुई बलिया प्रतिस्पर्धी लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो र कांग्रेस नेता निधि यसपटक यो क्षेत्रको प्रत्यक्ष चुनावी प्रतिस्पर्धामा छैनन् ।
तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) बाट महतोले कांग्रेस नेता निधिलाई २ हजार ९०३ मतान्तरले पराजित गर्दै जित हासिल गरेका थिए । महतोले ३० हजार ७५० मत प्राप्त गरेका थिए भने निधी २७ हजार ८४७ मत मात्र प्राप्त गरेका थिए ।
निधि यस पटक समानुपातिक रोजेका छन् भने महतोले पनि विगतमा जस्तो मतदाताको विश्वास नदेखेर हुनसक्छ गृह जिल्ला सर्लाही २ बाट उम्मेदवार बनेका छन् ।
विगतको चुनावमा एमालेले आन्तरिक रुपमा राजेन्द्रलाई सहयोग गरेको थियो । जसमा एमाले नेता रघुवीर महासेठ र जुलीको प्रमुख भूमिका रहेको बताइन्छ । अहिले जुली यो क्षेत्रमा एमालेबाट उम्मेदवार भएपछि त्यहि गुण तिर्न महतो बाहिरिएको पनि कतिपयको बुझाइ छ ।
निकै महत्वका साथ हेरिएको धनुषाको निर्वाचन क्षेत्र नं. ३ मा अब मुख्यप्रतिष्पर्धा सत्तागठबन्धनका उम्मेदवार अनिल झा र एमाले जसपा गठबन्धनका उम्मेदवार जुली महतो बीच हुने पक्का छ।
झा २०७४ को निर्वाचनमा रौतहट १ बाट प्रत्यक्ष निर्वाचित भएका थिए । यसपटक पाँच दलीय भागबण्डामा रौतहट १ मा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमानर नेपाल उम्मेदवार बनेपछि उनको रोजाइमा धनुषा ३ परेको हो ।
२०७४ को निर्वाचन जस्तो अहिले यो क्षेत्र मधेशवादी दलका लागि बलियो जनाधार देखिँदैन । मधेश केन्द्रित दलहरु जसपा र लोसपा दुई अलग गठबन्धनमा छन् । मधेश आन्दोलनको प्रभाव पनि कम हुँदै गएको छ । स्थानीय सरकारमा लोसपाको बलियो पकड पनि छैन ।
स्थानीय तहको चुनाव अनुसार सत्तागठबन्धनको झा बलियो
स्थानीय तहको चुनावको मत परिणाम हेर्दा सत्तागठबन्धनको अवस्था बलियो देखिएको छ।
धनुषा क्षेत्र नं. ३ मा जनकपुरधाम उपमहानगरपालिकाका १७ सहित जम्मा ३८ वटा वडा पर्छन् । जनकपुरधाम बाहेक नगराइन नगरपालिकाको सबै ९ वटा वडा, मुखियापट्टी मुसहरनिया गाउँपालिकाको सबै ६ वटा वडा, धनौजी गाउँपालिकाको सबै पाँचवटा वडा र विदेह नगरपालिकाको एउटा वडा यस निर्वाचन क्षेत्रमा पर्छ ।
गत स्थानीय तहको नतिजा हेर्ने हो भने यो क्षेत्रमा कांग्रेस बलियो देखिन्छ भने दोस्रोमा एमाले छ ।
क्षेत्र भित्रको ३८ मध्ये आधा अर्थात १९ वटा वडा एक्लै कांग्रेसले जितेको छ । दोस्रो स्थानमा एमालेले ११, जसपाले ४, लोसपाले ३ र नेकपा एकीकृत समाजवादीले १ वडामा जित निकालेको छ ।
यसरी हेर्दा काँग्रेस, लोसपा र नेकपा एकिकृत गरि जम्मा २३ वडा जितेको छ भने एमाले र जसपा गरि १५ वटा वडामा जितेको छ।
स्थानीय चुनावमा ३८ वटा वडाको वडाध्यक्ष पदमा पार्टीहरुले पाएको मत जोड्ने हो भने पहिलो स्थानमा कांग्रेस देखिन्छ ।
काँग्रेसको २२ हजार ४२९ मत छ । दोस्रोमा एमालेको १६ हजार १६ मत छ । जसपाले ८ हजार २२४ र लोसपाले १ हजार १६३ मत प्राप्त गरेको छ ।
त्यस्तै नेकपा एकीकृत समाजवादीले ३ हजार ७१३ र सबभन्दा कम नेकपा माओवादी केन्द्रले ६५६ मत प्राप्त गरेको निर्वाचन आयोको तथ्यांकमा छ । कुल मत जोड्दा पाँच दलीय गठबन्धनको २७ हजार ९ सय ६१ रहेको छ भने एमाले र जसपाको मत जोड्दा २४ हजार २ सय ४० अर्थात सत्तागठबन्धन बलियो देखिन्छ ।
यहि अवस्थामा मत खस्ने हो सत्तागठबन्धनका उम्मेदवाहरुको जित्ने आधार बलियो देखिन्छ।
झाको जितको लागि कांग्रेसको मत महत्वपूर्ण
यसर्थमा लोसपा उम्मेदवार झाको जितको लागि कांग्रेसको मतको महत्वपूणर् रहन्छ । यस चुनावमा कांग्रेसको तर्फबाट अन्तरघात हुने कुनै सम्भावना नरहेको नेता तथा मधेश सरकारका निवर्तमान भौतिक पूर्वाधार मन्त्री रामसरोज यादवको दावी छ।
धनुषा ३ (क) प्रदेशसभामा उम्मेदवारी समेत रहनु भएको नेता यादवले भने, “पानी जति बाँधे पनि अलि-अलि चुहिन्छ नै । यो कुनै पनि निर्वाचनमा हुन्छ । तर यसपालि अन्तरघात हुँदैन भन्नेमा ढुक्क छौं । गठबन्धनको जित निश्चित छ ।”
यता तिर भने निधि र महतो यस क्षेत्रबाट चुनावी प्रतिष्पर्धामा नउत्रेपछि जुलीलाई सहज भएको एकथरीको अनुमान छ । आफ्नो लागि यो क्षेत्र जित्न खासै चुनौतीपूणर् नहुने जुलीको पनि बुझाइ छ । ‘म जनताले विश्वास गरेको पार्टी र जनताले विश्वास गरेको उम्मेदवार हुँ । मेरो जितले यो क्षेत्रको विकास, समृद्धि र सुशासन हुन्छ भन्ने जनताको बुझाइछ । यो नै मेरो जितको आधार हो’, जुलीले भनिन् ।
पूर्वमन्त्री महतोले भनिन्, ‘यो मेरो मात्र नभई धनुषा निर्वाचन क्षेत्र ३ का सम्पूणर् जनताको उम्मेदवारी हो, मलाई यो क्षेत्रको जनताले गरेको अगाध माया स्नेहले नै उम्मेदवारी दर्ता गराउन प्रेरित गरेको छ। म यस क्षेत्रको पिछडिएको वर्गका साथै आफू स्वयं महिला भएकाले महिलाको हकहितका लागि समेत आवाज उठाउँछु।’
त्यसैगरी यसअघि लोसपाका नेता राजेन्द्र महतोले यस क्षेत्रबाट चुनाव जितेको हुनाले आफूहरुका लागि विजय सहज हुने झाको बुझाइ छ । ‘लोसपाले यसअघि यो क्षेत्र जितेको थियो । त्यसबेला यहाँ विकासका महत्वपूणर् कामहरु पनि भएका छन् । गठबन्धनको मत भार पनि बढी छ । मैले जित्ने थुप्रै आधारहरु छन्’, झाले भने ।
नेता झाले पाँचदलीय गठबन्धनले आफूलाई उम्मेदवार बनाएर पठाएकोले आफू धनुषा-३ मा आएको बताए। उनले भने, “जनकपुरधामलाई मधेश प्रदेशको राजधानी हामीले बनाएका हौं। संघीयता हामीले ल्याएका हौं। त्यसैले यहाँको राजधानीमा हाम्रा अग्रजले गर्न बाँकी रहेका कामहरु मैले पूरा गर्नुपर्ने छ।”
प्रदेशको राजधानीबाटै संघीयतावादी, मधेशवादी र लोकतन्त्रवादीका साथै एक दशकभन्दा बढी समयसम्म देशको लोकतन्त्र र मधेस तथा मधेशीको अधिकारको निम्ति लडेको व्यक्ति यहाँको प्रतिनिधित्व गर्दा व्यक्तिको पनि र स्थानको पनि इज्जत बढ्ने भएकोले आफूले मधेशको मुटुबाट निर्वाचनमा होमिएको झाले बताए ।
जुली र झाले जे जस्तो दावी गरेपनि यस क्षेत्रमा को विजयी हुन्छ भन्नलाई कांग्रेस पार्टी र नेता विमलेन्द्र निधिको भूमिका के हुन्छ त्यसमा निर्भर हुने देखिन्छ ।
यद्यपी काँग्रेस नेता निधि आफै यस क्षेत्रमा उपस्थित भएर चुनावी अभियान खटिनु भएको छ। उहाँले संघीयता, लोकतन्त्रको रक्षा र प्रतिगमणकारी परास्त गर्न सत्तागठबन्धनका उम्मेदवाहरु जित्नु पर्ने धारणा चुनावी सभा तथा कार्यक्रमहरु राख्दै झालाई जिताउन मतदाताहरु संग आग्रह गर्न थालेका छन् ।
राजनीतिक विश्लेषणको अवस्था
“विगतको इतिहासलाई मध्येनजर गरि हेर्दा धनुषा र त्यसपनि विशेष गरि जनकपुरधाम आसपासका क्षेत्रहरु डेमोक्रेटिक (लोकतान्त्रिकधार) रहेको छ। यहाँ कांग्रेसले मात्र जित्दै आएको इतिहास छ। अझ बोहर्वा र लोहना त खाँटी डेमोक्रेटिक गाउँ नै हो भन्दा पनि फरक नपर्ला।” राजनीतिक विश्लेषक नित्यानद मण्डल बताउँछन् । मण्डलको अनुसार नेपाली कांग्रेसका नेता महेन्द्रनारायण निधिले जित्दै आएको क्षेत्र भएपनि पहिले कांग्रेस भर्सेज एण्टि कांग्रेस हुने गरेको बताए। जसको परिणाम २०४६ पछि विमलेन्द्र निधिलाई हराएर राप्रपाको कृष्णप्रताप मल्लले निर्वाचन जितेपनि जनतालाई साथ दिएनन् र फेरि पनि विमलेन्द्र निधिले यस क्षेत्रमा जितेको हो ।
मण्डलले भने, “विमलेन्द्र निधिले चुनाव जितेको बेला वामपन्थी धारको कुनैपनि नेता बल भएनन्। सामान्य शिक्षक हरिदेव मण्डल वामपन्थी धारबाट उम्मेदवार त भए तर विमलेन्द्र निधिको तुलनामा ह्यावीवेट उम्मेदवार भएनन्। तर २०७४ को प्रतिनिधिसभा निर्वाचनमा ह्यावीवेट राजेन्द्र महतोसँग विमलेन्द्र निधिले हार व्यहोर्नुपर्यो।” उनले तत्कालिन राजपा र अहिलेको लोसपाका नेता राजेन्द्र महतोको धार पनि लोकतान्त्रिक नै रहेको बताए ।
विश्लेषक मण्डलले अहिलेको चुनावमा जातिय फयाक्टरले समेत काम गर्ने बताउँछन्, “धनुषा ३ मा झा र महतोको फयाक्टर हेर्ने हो भने ब्राह्मणहरु एकत्रित हुन सुरु भैसकेको छ। जसमा १२ हजार मतदाता ब्राह्मण छन् जसले जूलीलाई सकस बनाउँछ। अहिले द्वीपक्षिय काष्ट पोलिटिक्स हुने स्थिति छ।”
त्यसैगरी गत चुनावमा हार व्यहोर्नुभएको निधि तथा पार्टीको चुनावमा समेत नराम्रो संग हार व्यहोरेको हुँदा उहाँको आफ्नो राजनीति क्यारियर पुनः स्थापित गर्नको लागि पनि सत्तागठबन्धनको जित आवश्यक रहेको हुँदा निधि जोडतोडले झालाई जिताउनको लागि भिडि सकेको राजनीतिक विश्लेषकहरु बताउँछन्।