
काठमाडौं- नागरिकताका विषयमा उजुरी परेपछि रवि लामिछानेको उम्मेदवारीको योग्यतामाथि प्रश्न उठेपछि उनी मौन छन्। हरेक विषयमा खरो र दह्रो गरी उत्रने स्वभाव भएका रविले यस विषयमा भने आफ्नो प्रतिरक्षा गर्न सकेका छैनन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं चितवन–२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार लामिछानेले अमेरिकी नागरिकता नत्यागेको भन्दै उम्मेदवारी रद्द गर्ने माग सहितको उजुरी परेको छ।
राजकुमार पाण्डेले मंगलबार आयोगमा दिएको उजुरीमा अमेरिकाको नागरिकता नत्यागेका कारण उम्मेदवारी खारेजी हुनुपर्ने माग छ। नेपाल नागरिकता ऐन २०६३ को दफा ११ मा विदेशी नागरिकता त्याग गरेर पुनः नेपाली नागरिकता कायम हुनका लागि पूरा गर्नुपर्ने प्रक्रिया रविले पुरा नगरेको उजुरीकर्ताको दाबी छ।
रविले शुरुमा २०५० सालमा नेपालमा नागरिकता लिएका थिए। उनी पछि अमेरिका गए। नेपालको कानुनअनुसार विदेशी नागरिकता लिएपछि स्वतः नेपालको नागरिकता खारेज हुन्छ। फेरि नेपाली नागरिकता लिनुपरेमा विदेशमा नागरिकता त्यागेको प्रमाण पेश गर्नुपर्ने हुन्छ। तर रविले भने विदेशी नागरिकता त्यागे पनि नेपाली नागरिकता ब्युँताएनन्। उनले खारेज भइसकेको पुरानै २०५० सालको नागरिकता प्रयोग गर्दै आएको कतिपयको दाबी छ।
रविले भने नागरिकताको विवाद सन् २०१८ मै सल्टिएको दाबी गर्दै आएका छन्। सन् २०१४ को अन्त्यतिर आफूले अमेरिकी नागरिकता लिएको र त्यति बेला नेपाली नागरिकता वाहकले विदेशी नागरिकता लिँदाको नेपालको कानुनी व्यवस्थाबारे ख्याल नगरेको उनको भनाइ छ।
रविले पहिले नै आफूसँग भएको नागरिकताको आधारमा उम्मेदवारी दर्ता गराएका बताइएको छ। जसकारण आफूले विदेशी नागरिकता त्यागेपछि ब्युँताइएको अर्को प्रतिलिपि सार्वजनिक गर्न सकेका छैनन्। यस विषयमा उनी मौन रहेपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले उनलाई नयाँ नागरिकता देखाउन आग्रह गरिरहेका छन्।
नेपाल नागरिकता ऐन, २०६३ को दफा १० (१) मा कुनै नेपाली नागरिकले विदेशी नागरिकता लिएमा नेपालको नागरिकता स्वतः खारेज हुने उल्लेख छ । नेपाल नागरिकता नियमावली, २०६३ ले भने विदेशी नागरिकता लिएर नेपालको नागरिकता त्याग गर्नेबारे नेपालका निकायलाई जानकारी दिनुपर्ने व्यवस्था गरेको छ । जसमा नेपालको नागरिकता त्याग्न चाहेमा निज नेपालभित्र बसेको भए सम्बन्धित प्रमुख जिल्ला अधिकारीसमक्ष र विदेशमा बसेको भए सम्बन्धित नेपाली राजदूत वा नेपाली नियोग प्रमुख वा महावाणिज्यदूत वा वाणिज्य दूतसमक्ष नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल प्रति संलग्न गरी सूचना दिनुपर्ने र सूचना प्राप्त भएको ७ दिनभित्र नेपाली कूटनीतिक नियोगले परराष्ट्र मन्त्रालयमा लेखिपठाउनुपर्ने र नागरिकता खारेजीको प्रक्रिया थाल्ने उल्लेख छ । नागरिकता खारेजीको सूचना अभिलेख गर्नुपर्ने व्यवस्था छ ।
अमेरिकी नागरिकता लिँदा पनि लामिछाने नेपाली नागरिकता खारेजी प्रक्रियामा गएका थिएनन्, नेपाली नागरिकता आफूसँगै राखिरहे । उनले अमेरिकी नागरिकता त्याग गरेको दाबी गर्दै आएका छन् । त्यसको प्रक्रिया सुरु गर्न २ हजार ३ सय ५० अमेरिकी डलर दस्तुर सन् २०१८ मा तिरेको रसिद पनि सार्वजनिक भएको छ ।
तर अमेरिकी नागरिकता त्यागको प्रक्रिया पूरा भयो कि भएन भनेर प्रमाण सार्वजनिक गरेका छैनन् । साथै उनले पुन नेपाली नागरिकता लिनुपर्ने प्रक्रिया पुरा नगरी खारेज भइसकेको पुरानै नागरिकता प्रचलन गरिरहेका छन्। यसैले उनले प्रयोग गरिरहेका नागरिकता बाहिर देखाउन नसकेको कतिपयको बुझाइ छ।
रविविरुद्ध उजुरी परेपछि चितवन–२ को निर्वाचन अधिकृत कार्यालयले सात दिनभित्र जवाफ दिन भन्दै पत्र पठाएको छ । रवि अर्कै जिल्लामा भएकाले पत्र राष्ट्रिय स्वतन्त्र पार्टीका चितवन सचिव कृष्ण भुसालले बुझेका छन्।