धनुषा – असारको अन्तिम सातासम्म आइपुग्दा मधेश प्रदेशका अधिकांश जिल्लामा धान रोपाइँले तीव्रता पाएको छ। केही दिनयता भएको वर्षापछि खेतमा किसानको चहलपहल बढेको छ। खेतका कान्लामा रोपाहा गीत घन्किरहेका छन्, बारी–खेत हरियाली बन्दै गएका छन्। तर यो उत्साहसँगै किसानको अनुहारमा चिन्ताको रेखा पनि उत्तिकै गहिरो छ। कारण हो–रासायनिक मलको चरम अभाव।
धान खेतीको सबैभन्दा महत्त्वपूर्ण समयमा युरिया, डीएपी र पोटासजस्ता रासायनिक मल सहज रूपमा उपलब्ध नहुँदा मधेशका किसान खेत र मल बिक्री केन्द्रबीच धाउन बाध्य भएका छन्। वर्षा समयमै भए पनि मल नपाउँदा उत्पादन घट्ने चिन्ताले किसानहरू निराश बनेका छन्। उनीहरूको एउटै प्रश्न छ– “खेतमा पानी पुग्यो, रोपाइँ पनि गरियो, तर मल कहाँ छ ?”सरकारले भने मुलुकभर रासायनिक मलको अभाव नरहेको दाबी गर्दै आएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार हाल देशभर ९२ हजार ५९२ मेट्रिक टन रासायनिक मल मौज्दात छ। मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मन्त्री श्याम प्रसाद पटेल पनि पटक–पटक आवश्यक परिमाणमा मल उपलब्ध गराउने तयारी भइरहेको र किसान आत्तिनुपर्ने अवस्था नरहेको बताउँदै आउनुभएको छ।




तर सरकारी दाबी र किसानले भोगिरहेको यथार्थ भने फरक देखिन्छ। मधेशका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सालगायत जिल्लामा किसानहरू एक बोरा मलका लागि घण्टौँदेखि दिनौँसम्म लाइनमा बस्न बाध्य छन्।
कतिपय स्थानमा मल वितरण हुने खबर पाएपछि बिहानैदेखि किसान बिक्री केन्द्रमा पुग्छन्, तर सीमित परिमाणका कारण धेरैजसो किसान रित्तो हात फर्किनुपर्ने अवस्था छ।धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–८ दिगम्बरपुरका किसान अयोधीप्रसाद महतोका अनुसार स्थानीय सहकारीमा जम्मा १५० बोरा मल पुगेको थियो। त्यो परिमाण स्थानीय आवश्यकताको एक प्रतिशत पनि नभएको उहाँ बताउनुहुन्छ। “धान रोपाइँ सुरु भइसक्यो, तर मल पाउन सकिएको छैन। समयमै मल नपाए उत्पादनमा प्रत्यक्ष असर पर्छ,” उहाँको भनाइ छ।

मधेशका अन्य जिल्लामा पनि अवस्था उस्तै छ। कतिपय किसान मलबिनै धान रोप्न बाध्य भएका छन् भने केहीले सीमावर्ती भारतीय बजारबाट महँगो मूल्यमा मल ल्याउने प्रयास गरिरहेका छन्। यसले खेतीको लागत बढाएको छ भने गुणस्तरीय मलको सुनिश्चिततामाथि पनि प्रश्न उठेको छ।
कृषि विभागका अनुसार असार २६ गतेसम्म मधेश प्रदेशमा ३२.८ प्रतिशत मात्र धान रोपाइँ सम्पन्न भएको छ। यो सात प्रदेशमध्ये दोस्रो न्यून प्रगति हो। कृषि क्षेत्रका जानकारहरूका अनुसार रासायनिक मलको अभाव, उन्नत बीउको सीमित उपलब्धता तथा पर्याप्त सिँचाइ सुविधाको कमीका कारण रोपाइँको गति प्रभावित भएको हो।
कृषि विज्ञहरूका अनुसार नेपालमा बर्खे धानका लागि करिब दुई लाख मेट्रिक टन युरिया, एक लाख ५० हजार मेट्रिक टन डीएपी र १५ हजार मेट्रिक टन पोटास आवश्यक पर्छ। हाल मौज्दात रहेको र आयातको क्रममा रहेको मल जोड्दा पनि आवश्यक परिमाणको करिब एकतिहाइ मात्र उपलब्ध हुने अवस्था रहेको उनीहरूको भनाइ छ। त्यसैले सरकारले पर्याप्त मौज्दात रहेको दाबी गरे पनि किसानको आवश्यकता पूरा हुने अवस्था नरहेको विज्ञहरूको निष्कर्ष छ।
मल अभावसँगै खरिद प्रक्रियामाथि पनि प्रश्न उठ्न थालेका छन्। एउटै अन्तर्राष्ट्रिय आपूर्तिकर्ताले भारतलाई कम मूल्यमा र नेपाललाई तुलनात्मक रूपमा महँगो मूल्यमा मल उपलब्ध गराएको विषय संसद्मा उठेको छ। सांसदहरूले खरिद प्रक्रियामा पारदर्शिता कायम गर्न तथा सम्भावित अनियमितताको छानबिन गर्न सरकारसँग माग गरेका छन्।

नेपालको कुल खेतीयोग्य जमिनमध्ये करिब ५४ प्रतिशत क्षेत्रमा धान खेती हुने गर्छ। कृषि क्षेत्रको कुल गार्हस्थ उत्पादनमा धानको योगदान करिब १३ प्रतिशत रहेको छ। मधेश प्रदेशलाई देशको ‘अन्न भण्डार’ मानिन्छ। यही प्रदेशमा धान उत्पादन घटे त्यसको प्रत्यक्ष असर राष्ट्रिय खाद्य सुरक्षामा पर्ने कृषि विज्ञहरूको भनाइ छ।कृषि अर्थशास्त्रीहरूका अनुसार धान खेतीमा रासायनिक मलको प्रयोग समयमै हुन नसके उत्पादनमा उल्लेखनीय गिरावट आउन सक्छ।
कृषि विज्ञ डा श्रीभगवान ठाकुर भन्नुहुन्छ, “रोपाइँपछि निश्चित समयमा युरिया र डीएपी प्रयोग गर्न नसकिए बोटको वृद्धि, बाला लाग्ने क्षमता र उत्पादन सबै प्रभावित हुन्छ। त्यसको असर किसानको आम्दानीमा मात्र होइन, मुलुकको खाद्यान्न आयातमा समेत पर्न सक्छ।”
किसानहरू अहिले सरकारसँग ठूलो अपेक्षा राखेका छन्। उनीहरूको माग नयाँ कार्यक्रम वा राहतको होइन, समयमै आवश्यक मलको सहज उपलब्धता हो। कृषि उत्पादनको मेरुदण्ड मानिने किसानलाई खेतीकै मौसममा मलका लागि लाइनमा उभिनुपर्ने अवस्था अन्त्य नगरे प्रत्येक वर्ष दोहोरिने यही समस्या भविष्यमा अझ गम्भीर बन्न सक्ने कृषि क्षेत्रका सरोकारवालाहरूको चेतावनी छ।

वर्षाको अनुकूलतासँगै खेतमा रोपाइँको चटारो बढिरहेको छ। अब सरकारले मल आपूर्ति र वितरण व्यवस्थापनलाई प्रभावकारी बनाउन सके मात्र किसानको मेहनतले अपेक्षित प्रतिफल पाउनेछ। अन्यथा मधेशका हरिया खेतले यस वर्ष पनि मल अभावको पीडा बोकेर अपेक्षाभन्दा कम उत्पादन दिनुपर्ने जोखिम टरेको छैन।




