
जनकपुरधाम- नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले एमालेका कारण राष्ट्रियता खतरामा परेको बताएका छन् । उनले राष्ट्रियता बलियो पार्न मंसिर ४ को चुनावमा पाँच दलीय सत्तागठबन्धलाई मतदान गर्न आह्वान गरे ।

पाँचदलीय गठबन्धनले चुनाव प्रचार-प्रसारको अन्तिम दिन क्षेत्र नं. ३ को जनकपुरधाम, क्षेत्र नं. १ को सबैला र क्षेत्र नं. ४ को लक्ष्मीनियामा आयोजना गरेको चुनावी सभामा प्रमुख अतिथिको आसनबाट बोल्दै पूर्वउपसभापति निधिले एमाले नेतृत्वलाई प्रश्न गर्दै उनले सोधे, “कुनै मधेशीबाट राष्ट्रियता खतरामा छ?”

नागरिकता विहीन ७ लाख नेपालीलाई नागरिकता दिलाउन कांग्रेसले अघि बढाएको नागरिकता सम्बन्धी कानुन एमाले कै कारण अघि बढ्न नसकेको नेता निधिको भनाइ थियो।

संसद्ले दुई दुई पटक पारित गराएर पठाएको नागरिकता विधेयक एमालेको उक्साहटमा राष्ट्रपतिले रोकेको भन्दै उनले ४ मंसिरको चुनावपछि राष्ट्रपति फेरेर भए पनि नागरिकता विधेयक स्वीकृत गराउने विश्वास दिलाए ।

निधिले मंसिर ४ को निर्वाचन पश्चात देशमा फेरि नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने दावी गरे।
संविधानको रक्षा गरे संविधानले मुलुकको रक्षा गर्ने निधिले भन्दै भने, “मंसिर ४ को चुनावमा कांग्रेसलाई विजयी गराउनु पहिलो दायित्व हो। कांग्रेसले सक्षम उम्मेदवारहरु उठाएको छ ।”

उनले कांग्रेसको कुशल नेतृत्वका कारण लोकतान्त्रिक संविधान जारी हुन सकेको जिकिर गरे ।

निधिले देशैभरि गठबन्धनको अवस्था राम्रो रहेको दावी गर्दै भने, “गठबन्धन कै सहमति अनुसार नेपाली कांग्रेसले प्रत्यक्षतर्फ १६५ मध्ये ९१ सिटमा चुनाव लडेको र त्यसमा आफूहरू ७० वटा सिट जित्ने लगभग निश्चित रहेको छ।”
त्यस्तै, माओवादी केन्द्र, लोसपा र राष्ट्रिय जनमोर्चा लगायतका दल पनि राम्रो संख्यामा जित्ने अहिलेसम्मको अनुमान रहेको उनले बताए ।
नेता निधिले धनुषा-३ मा प्रतिनिधिसभाको प्रत्यक्ष तर्फ साइकल छापमा र बाँकीमा रूख चिह्नमा मत दिन मतादातासँग आग्रह समेत गरे।

उनले भने, “मैले कांग्रेसलाई समर्थन गर्ने आफ्ना क्षेत्रका मतदाताहरूसँग अनिल झाको चुनाव चिह्न साइकल छापमा मतदान गर्न आग्रह गरिसकेको छु । त्यसैले यहाँ उहाँको जीत सुनिश्चित छ ।”
“अनिलजी जुनसुकै पार्टीमा भए पनि उहाँसँग पहिलेदेखि नै मेरो अत्यन्त मैत्रीपूणर् सम्बन्ध छ । संघर्षको बेलामा, संविधान लेख्ने बेलामा, धेरै मुद्दाहरू लोकतन्त्र, संघीयता र मधेसका मुद्दाहरूमा हामी दुई जनाको धेरै कुरा मिल्छ । त्यसैले अनिलजीको यहाँ जो प्रवेश भएको छ, मेरो सहमतिमा हो । मेरो पार्टीका सारा साथीहरूलाई मैले यहाँ अनुरोध गरेको छु अनिल झाजीलाई साइकल छापलाई विजयी गराउन ।”

उनले भने, “धनुषा-३ मा गठबन्धनका उम्मेदवारहरू जित्नेमा कुनै दुईमत छैन् । अनिल झा पनि जित्नु हुन्छ, रामसरोज यादवजी पनि जित्नु हुन्छ, परमेश्वर साहजी पनि जित्नु हुन्छ । हाम्रा सबै उम्मेदवारको जीत पक्का छ ।”
नेता निधिले यस क्षेत्रमा प्रतिपक्षीहरू पनि अनिल झा प्रति इमान्दार हुने विश्वास व्यक्त गरे।
त्यसैगरी उनले सत्तागठबन्धनका उम्मेदवार क्षेत्र नं. १ मा मातृका यादव प्रतिनिधि सभा सदस्य र क्षेत्र नं.१ (क) मा संजयकुमार महतो र (ख) मा संजयकुमार सिंहको लागि भोट मागे भने क्षेत्र नं. ४ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार महेन्द्र यादव र क्षेत्र नं. ४ (क)मा शेष नारायण यादव र (ख) मा शत्रुधन महतोको लागि समेत भोट मागे ।