
काठमाडौं। आज (आइतबार) सम्पन्न प्रदेश तथा सङ्घीय निर्वाचनमा ६१ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ। देशैभर ६१ प्रतिशत मतदानकाे प्रारम्भिक विवरण आएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए।
देशभरि कुल मतदाता १ करोड ७८ लाख ८८ हजार ५७० रहेका थिए। विवरणहरू आउने क्रम जारी रहेको र बढ्न सक्ने आयोगको अनुमान छ। यद्यपि अनुमानभन्दा कम मत खसेको प्रमुख आयुक्त थपलियाले बताए।
अघिल्लो (२०७४) संसदीय निर्वाचनमा ६८ दशमलव ६७ प्रतिशत मत खसेको थियो। गत वैशाखमा भएको (२०७४) स्थानीय तह निर्वाचनमा ७४ प्रतिशत मत खसेको थियो। यसअघि वैशाखमा सम्पन्न स्थानीय तह चुनावमा ६४ प्रतिशत मत खसेको थियो। यसअघि दुईवटा संविधानसभा निर्वाचनमा पनि करिब–करिब ६१ प्रतिशत बढी अनुपातमा मत खसेको पाइएको छ। २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा ७८ दशमलव ३४ प्रतिशत मत खसेको थियो।
आयोगले अहिले पत्रकार सम्मेलन गर्दै देशभरको चुनावको अवस्थाको बारेमा जानकारी दिएको छ। छिटपुट घटनाबाहेक देशभर शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न भएको आयोगले जनाएको छ। बाजुरामा चुनावी हिंसा भड्किएपछि प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । आधा दर्जन भन्दा बढी घाइते भएका छन् । एक जना सुरक्षाकर्मी पनि घाइते भएका छन्। बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजेसम्म थियो।
आयोगका अनुसार देशभरका १५ मतदान स्थलको मतदान स्थगित भएको छ । सुर्खेत, नवलपरासी पूर्व, बाजुरा र गुल्मीका १५ केन्द्रमा मतदान स्थगित भएको हो । विभिन्न विवादपछि ती स्थानको मतदान स्थगित गरिएको हो।
देशभरि २२ हजार २ सय भन्दा बढी मतदान केन्द्र कायम गरिएको थियो। यातायातको सुविधा भएका सुगम ठाउँहरूमा आजै साँझराति मतगणना सुरु गर्ने निर्वाचन आयोगको तयारी छ।