सुनिता बराल,महोत्तरी – महोत्तरी क्षेत्र नं १ मा मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र भेटिएपछि दुई घन्टादेखि मतगणना रोकिएको छ ।
क्षेत्र नं १ ख को गौशाला ४ को मतदान केन्द्रमा मतदान अधिकृतले हस्ताक्षर नगरेको धेरै मतपत्र फेला परेपछि विवाद सिर्जना भएको दलका प्रतिनिधिले बताएका छन् । गणना भइरहेको मतदान केन्द्रको एमालेको मत गणना सकेपछि माओवादी केन्द्रको गणना गरिरहँदा बाक्लो संख्यामा अधिकृतको हस्ताक्षर नभएको मतपत्र भेटिएपछि माओवादी केन्द्रका प्रतिनिधिले एमालेको मतपत्र पुन: हेर्नुपर्ने माग गरेका थिए ।



एमालेको मतपत्र पुन: हेर्दा हस्ताक्षर बिनाका मत भेटिएका छन् । भेटिएका हस्ताक्षर बिनाका मतपत्र पुन: हेर्न अनुमति नदिई हेरिएको गणना गरिसकेको मतलाई सदर गर्नुपर्ने माग आफूहरुको रहेको एमालेका निरोज अधिकारीले बताए । दुवै दलका प्रतिनिधिबीच उक्त विषयमा कुरा नमिल्दा क्षेत्र नं १ को प्रतिनिधिसभा तर्फको मतगणना दुई घन्टादेखि अवरुद्ध भएको निर्वाचन कार्यालयले जनाएको छ ।




