
जनकपुरधामा- मधेश प्रदेशमा निषेध गरिएको एमाले आम निर्वाचनमा प्रतिनिधि र प्रदेश दुबै तर्फ सबै भन्दा ठूला दल बनेको छ।
निर्वाचन आयोगले सार्वजनिक गरेको नतिजामा मधेश प्रदेशको ३२ प्रतिनिधि सभा सदस्य मध्ये नेकपा एमालेले ८ स्थानमा विजय हासिल गरेको छ ।एक स्थान(धनुषा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ४)मा अग्रता लिएको छ । २०७३ सालको फागुन २३ मा एमालेलाई मधेश प्रदेशमा रोक लगाउँदा मलेठ घटना भएको थियो ।सो घटनामा ५ जनाको ज्यान गएको थियो ।२०७४ सालको आम निर्वाचनमा मधेश प्रदेशबाट लीलानाथ श्रेष्ठ र रघुवीर महासेठ मात्र निर्वाचित भएका थिए । मधेश विरोधी दलको रुपमा प्रचारित कांग्रेसलेपनि प्रतिनिधि सभा सदस्य तर्फ प्रत्यक्षमा ७ स्थानमा जित हात पारेको छ ।सो संख्या सहित कांग्रेस दोस्रो स्थानमा रहेको छ । पहिचान सहित प्रदेशको नामकरण र संघीयताका लागि लामो आन्दोलन गरेका जनता समाजवादी पार्टी(जसपा) तेस्रो नम्बरमा खुम्चेको छ ।
जसपाले मधेश प्रदेशमा प्रतिनिधि सभा तर्फ ६ सिट मात्र जित्न सकेको छ । जसपाका अध्यक्ष उपेन्द्र यादव सप्तरी जिल्लाको क्षेत्र नम्बर २ बाट चुनावमा पराजित भएका छन् ।उनलाई जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले पराजित गरेका हुन् । मधेश आन्दोलनमा रहेका अर्का दल लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) चौथो स्थानमा सीमित भएको छ ।
प्रतिनिधिसभातर्फ लोसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता शरतसिंह भण्डारी सहित ३ जनाले जितेका छन् । नेकपा एसबाट अध्यक्ष माधवकुमार नेपाल सहित प्रतिनिधिसभामा मधेश प्रदेशबाट २ जना पुगेका छन् ।जनमत पार्टीका अध्यक्ष राउत मात्र एकजना चुनिएका छन् ।प्रभु साह , डा.अमरेश सिंह र किरण कुमार साह सहित ३ जना प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । मधेश प्रदेशको प्रदेश सभामा पनि प्रत्यक्षतर्फ एमाले नै ठूलो दल बनेको छ ।घोषित परिणाम अनुसार एमालेले प्रदेश सभाको १४ स्थानमा जित हासिल गरिसकेको छ ।धनुषा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ४ को ख मा जारी मतगणनामा एमालेका उम्मेदवार हरिनारायण महतोले अग्रता लिएका छन् ।
नेपाली कांग्रेसले प्रदेश सभामा प्रत्यक्षतर्फ १३ स्थानमा जितेको छ ।जसपाले ९ स्थान र लोसपाले ७ स्थानमा जित हासिल गरेका छन् ।जनमत पार्टीको ६ माओवादी केन्द्रको ४, नेकपा एकीकृत समाजवादी(एस)को ४ र स्वतन्त्रले ६ स्थान जितेका छन् । समानुपातिकतर्फको मत गणना अनुसार प्रदेश सभामा नेपाली कांग्रेस ठूलो दल बन्ने संभावना बलियो छ ।
२०७४ सालको आमचुनावमा तत्कालीन प्रदेश–२ मा सबै भन्दा ठूलो दल जसपा र दोस्रो दल लोसपा रहेको थियो ।पहिचान सहितको मधेश प्रदेश भएपछि तेस्रो र चौथो स्थानमा झरेको छ ।मधेश प्रदेशमा जसपाको नेतृत्वमा रहेको सरकार पूर्ण कार्यकाल पूरा गरेको छ ।