
जनकपुरधाम- धनुषा निर्वाचन क्षेत्र नम्बर ४ मा नेकपा एमालेका सचिव तथा मधेस प्रदेश इन्चार्ज रघुवीर महासेठ विजयी भएका छन्।
नेपाली कांग्रेस सहमहामन्त्री महेन्द्र यादवलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा महासेठ विजयी भएका हुन्। ०७४ को आम निर्वाचनमा पनि महासेठले यस क्षेत्रबाट यादवलाई पराजित गर्दै विजयी भएका थिए।
महासेठले ३२ हजार २३६ मत प्राप्त गर्दा यादवले ३२ हजार ११२ मत प्राप्त गरेका छन् ।
निकै रोमाञ्चक प्रतिस्पर्धा पछि महासेठ १२४ मतान्तरले विजयी भएका हुन् ।
धनुषा निर्वाचन क्षेत्र नम्बर ४ मा सुरुदेखि नै एमालेका महासेठले अग्रता बनाईरहेको भए पनि बीचमा कांग्रेसका यादवसँग फराकिलो अन्तरमा पछि परेका थिए । त्यस पछि महासेठले बटेश्वर गाउँपालिकाको मतगणना सकिँदा ३४ मतले अग्रता लिएका थिए ।
पुनः मिथिला नगरपालिकाको वडा नंं. १, २, ३,५,६,७,९ र १० सम्म मतगणना हुँदा यादवले अग्रता कायम राखेको भएपनि वडा नं. ११ को मतगणना पश्चात महासेठले जित निकाल्न सफल भएका हुन् ।