जनकपुरधाम-प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक हुँदा मधेश प्रदेशमा १८ जना पूर्वमन्त्री पराजित हुनुभएको छ । कतिपय पूर्वमन्त्री नयाँ अनुहारसँग पराजय हुनुभएको छ भने कतिपयलाई अघिल्ला प्रतिस्पर्धीबाट हार बेहोर्नुपरेको छ । सबैभन्दा बढी धनुषामा मात्रै छ जना पूर्वमन्त्री पराजित हुनुभएको छ ।
धनुषाको क्षेत्र नम्बर १ मा नेकपा (माओवादी केन्द्र)का उपमहासचिव तथा पूर्वमन्त्री मात्रिकाप्रसाद यादव अघिल्ला प्रतिस्पर्धी जनता समाजवादी पार्टीका नेता दीपक कार्कीसँग पराजित हुनुभएको छ । गत २०७४ सालको निर्वाचनमा सोही क्षेत्रबाट यादव २६ हजार चार सय १८ मत प्राप्त गरी विजयी हुँदा कार्की १७ हजार दुई सय ९६ मत प्राप्त गर्नुभएको थियो । यादव गत २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो । यस्तै धनुषा क्षेत्र नम्बर २ मा चुनावी प्रतिस्पर्धामा रहनुभएका तीन जना पूर्वमन्त्रीमध्ये पूर्वमन्त्री तथा कांग्रेस नेता रामकृष्ण यादव निर्वाचित हुनुभएको भने पूर्वमन्त्री उमाशङ्कर अरगरिया र रामचन्द्र झा पराजित हुनुभएको छ । गत २०७४ सालको निर्वाचनमा अरगरिया निर्वाचन हुँदा झा र यादव पराजित हुनुभएको थियो । धनुषा क्षेत्र नं ३ मा पूर्वमन्त्री तथा लोसपा नेता अनिलकुमार झा पराजित हुनुभएको छ । पूर्वमन्त्री तथा नेकपा (एमाले) का नेत्री जुलीकुमारी महतोसँग झा पराजित हुनुभएको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिनुभयो । मुख्य निर्वाचन अधिकृत प्याकुरेलका अनुसार महतोले ३३ हजार तीन सय ८८ मत प्राप्त गर्नुभयो भने झाले २३ हजार छ सय ८६ मत ल्याउनुभयो । धनुषाको क्षेत्र नम्बर ४ मा पूर्वमन्त्री तथा एमालेका सचिव रघुवीर महासेठ दोस्रो पटक विजयी हुँदा पूर्वमन्त्री तथा कांग्रेसका सहमहामन्त्री महेन्द्रयादव पराजित हुनुभएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार महासेठले यादवलाई एक सय ४२ मतान्तरले पराजित गर्नुभएको छ । महासेठले ३२ हजार दुई सय ३६ मत ल्याएर निर्वाचित हुदाँ यादवले ३२ हजार एक सय १२ मत प्राप्त गर्नुभयो । सोही क्षेत्रको प्रदेशसभामा चुनाव लड्नुभएका पूर्वराज्यमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता सत्रुधनप्रसाद महतो पनि एमालेका नेता हरिनारायण महतोसँग पराजित हुनुभएको छ । धनुषामा छ जना पूर्वमन्त्री पराजित हँुदा छिमेकी जिल्ला सिरहामा पनि चार जना पूर्वमन्त्रीलाई पराजय बेहोर्नुपरेको छ । सिरहा क्षेत्र नम्बर १ मा पूर्वमन्त्री तथा कांग्रेस नेता पदमनारायण चौधरी एमालेका रामशङ्कर यादवसँग पराजित हुनुभएको छ । एमालेका यादवले २९ हजार चार सय ६२ मत प्राप्त गरी विजयी हुँदा चौधरीले २७ हजार तीन सय ७९ मत प्राप्त गर्नुभएको छ । सिरहा क्षेत्र नम्बर २ मा पूर्वमन्त्री तथा कांग्रेस नेत्री चित्रलेखा यादव पराजित हुनुभएको छ ।