
जनकपुरधाम- मधेस प्रदेशका गृह तथा संचार मन्त्री भरत प्रसाद साहले मानव अधिकारको रक्षाका लागि सबै पक्षले आ-आफ्नो कर्तव्य एवं दायित्व इमानदारीपूर्वक पालना गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

७४ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेश कार्यालय जनकपुुरधामले आज आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै गृह तथा सञ्चारमन्त्री साहले मानव अधिकारको सवालमा मधेश प्रदेश सरकार गम्भीर एवं सजग भएको बताए । उनले मानव अधिकारको मूलभूत मान्यता तथा सिद्धान्तको पालना गर्न सबै पक्षसँग प्रदेश सरकार हातेमालो गरी अघि बढ्न चाहेको बताए।

“सबैको लागि मर्यादा, स्वतन्त्रता र न्याय” सम्बन्धी मूल नारा सहित आयोजित कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता समेत रहेका मन्त्री साहले सत्य निरुपण तथा मेलमिलाप आयोगले सरकारलाई बुझाएको प्रतिवेदन कतिको कार्यान्वयन भयो वा भएन त्यसको आत्मसमीक्षा गर्न जरुरी रहेको बताए।
नेकपा एमालेका तर्फबाट नवनिर्वाचित प्रदेश सभाका सदस्य शारदा देवी थापाले मानव अधिकारको स्थापनाका लागि अधिकारसँगै कर्तव्यको ख्याल गर्न जरुरी रहेको बताए।
जनता समाजवादी पार्टी नेपालका नवनिर्वाचित प्रदेश सभाका सदस्य रामअशिष यादवले मानव अधिकारको रक्षाका लागि मानव अधिकार रक्षाको अग्रपंक्ति रहने मानव अधिकारकर्मी तथा पत्रकारहरूको सुरक्षा आवश्यक भएको बताए।

जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले मानव अधिकारको रक्षाबिना मुलुकको विकास तथा समृद्धिको जनचाहना पुरा गर्न कठिन हुने बताउँदै जनकपुरधाम उपमहानगरपालिकालाई मानव अधिकारमैत्री नगर बनाउने पक्षमा आफू रहेको बताए।
राष्ट्रिय मानव अधिकार आयोगका मधेश प्रदेशका कार्यालय प्रमुख मञ्जु खतिवडाले मुलुकको समृद्धि र विकासका लागि मानव अधिकारको अवस्था राम्रो हुन जरुरी रहेको बताइन्। उनले कुनै समाज र देशको मानव अधिकारको अवस्था हेरेर त्यहाँको शान्ति र सुशासनको मूल्यांकन गरिने बताइन् ।