
जनकपुरधाम- धनुषाको बटेश्वरमा महिलाको हत्या आरोपमा उनकै श्रीमान पक्राउ परेकाे छ ।
धनुषाको बटेश्वर गाउँपालिका वडा नंं. ५ शान्तिपुरका विरेन्द्र यादवकी श्रीमती २७ वर्षीया रितादेवी यादवको गएराति हत्या भएको हो । गम्भीर घाइते अवस्थामा रितालाई श्रीमान् विरेन्द्रले जनकपुरको काव्या अस्पताल पुर्याएका थिए ।
उनको उपचारको क्रममा मृत्यु भयो । घटना पश्चात प्रहरीले थालेको अनुसन्धानमा श्रीमान विरेन्द्रले नै बञ्चरो प्रहार गरी हत्या गरेको र बन्चरो आफ्नै बारीमा रहेको पोखरीमा फालेको खुलेको धनुषाका डिएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।
त्यसपछि उनि आफैंले श्रीमतीलाई उपचार गर्न भन्दै अस्पताल पुर्याएका थिए । श्रीमान माथि नै शंका लागेर सोधपुछ थालेपछि विरेन्द्रले आफूले नै बञ्चरो प्रहार गरी हत्या गरेको स्वीकार गरेको डिएसपी क्षेत्रीले बताए । हत्यामा प्रयोग भएको बञ्चरो बरामद गरी विरेन्द्रलाई नियन्त्रणमा लिइएको र थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । आइतबार राति ११ बजेको समयमा घरमा सुतिरहेकी रितामाथि सुतेकै ओछ्यानमा धारिलो हतियार प्रहार भएको थियो ।
उनका ४ र ६ वर्षका दुई छोरा छन् । स्थानीयका अनुसार विरेन्द्रले श्रीमतीलाई कुटपिट तथा यातना दिँदै आएका थिए । तीन महिना अघि विरेन्द्रले बिहेमा पाएको फर्निचर सहितका सामान सहित रितालाई उनको माइत (महोत्तरीको भंगहा नगरपालिका ९ अजगेबा) पुर्याएका थिए । ससुराली पक्षकाले स्थानीयले भने उनीहरुलाई फर्काएका थिए ।