धनुषा- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले बटेश्वर गाउँपालिकामा गठन गरेको बालअधिकार समुहका पदाधिकारीहरुलाई दुई दिने बाल अधिकार शिविर तथा बाल अधिकार समुहका लागि क्षमता अभिवृद्धि तालिम मंसिर २६ गते सम्पन्न गरेको छ ।
बटेश्वर गाउँपालिकाको सभाहलामा आयोजना गरिएको तालिममा मानवअधिकार शिक्षा कार्यक्रमका लागि श्री शिवशक्ति नमुना माध्यमिक विद्यालय बटेश्वर र लक्ष्मी माध्यमिक विद्यालय चित्रपुरमा गठित बालअधिकार समुहका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
तालिमको क्रममा सहभागिहरुलाई मानवअधिकार, बालअधिकार, बालअधिकार समुहले पालना गर्नुपर्ने काम कर्तव्य र अधिकार, बालभित्ते पत्रकारिता र आचारसंहिता, नेतृत्व तथा क्षमता विकास, सामाजिक समस्या र त्यसको समाधानलगायतको विषयमा सहभागिहरुलाई तालिम दिइएको हो ।
तालिम समापन कार्यक्रममा इन्सेक मधेश प्रदेशका संयोजक राजु पासवानले समग्र रुपमा मानवअधिकारको रक्षार्थ र बालअधिकारको क्षेत्राधिकार भित्र रहेर आफना काम, कर्तव्य गर्न विद्यार्थीहरुलाई आग्रह गरे । उनले समाजमा व्याप्त सामाजिक तथा सांस्कृतिक कुरुति, सामाजिक हिंसा, लैगिंक हिंसा, बालविवाह, दहेज प्रथालगायतको सवालमा न्युनिकरणका लागि पालिकासंग समेत समन्वय गरि बालअधिकार समुहले कार्यक्रम गरिनुपर्नेमा जोड दिए ।
मानवअधिकार निगरानी समुहका अध्यक्ष सुरज महतोले मानवअधिकारको रक्षा र बालअधिकारको संरक्षण, सम्वर्द्धनका लागि आफुहरुको अभियानमा जनप्रतिनिधीहरुको समेत साथ र सहयोगको अपेक्षा गरे। तालिममा सहभागि ५० जनालाई प्रमाणपत्र समेत प्रदान गरिएको छ ।