
जनकपुरधाम- जनकपुरधाममा जारी ‘जनकपुरधाम मेयर कप टी–२० क्रिकेट प्रतियोगिता’ अन्तर्गत आइतबार चौथो दिनको खेलमा बारा र पर्सा विजयी भएका छन् ।
आइतबारको पहिलो खेलमा बाराले रौतहटलाई ५३ रनले पराजित गर्दा दोस्रो खेलमा सर्लाहीलाई ७ विकेटले पराजित गर्दै पर्सा विजयी भएको हो ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१४ रजौल स्थित प्रस्तावित रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशालामा बिहान भएको पहिलो खेलमा बाराले रौतहटलाई ५३ रनले राजित गर्यो ।
टस जितेर ब्याटिङ्ग गरेको बाराले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३७ रनको स्कोर खडा गरेको थियो । जवाफी ब्याटिङ्ग गरेको रौतहट १३ ओभर ४ बलमा मात्र ८४ रनमै सिमित भयो ।
बाराको ब्याटिङ्गमा तीर्थराज दासले ३७, निखिल सिंहले अविजित २८, पवन सर्राफले २६ र अरनिको यादवले १६ रनको योगदान गरे ।
बलिङ्गतर्फ रौतहटका धर्मेन्द्र साहले २ तथा विनोद सहनी, रञ्जित मुखिया, सन्नी साह र आशिक साहले १/१ विकेट लिए ।
ब्याटिङ्गतर्फ रौतहटका लागि अरविन्द चौधरीले अविजित १७ रनको पारी खेल्दा शैलेन्द्र कुशवाहाले १३, नितेश यादवले १२ र विपिन सहनीले १२ रन बनाएका थिए । बाँकी अन्य खेलाडीले दोहोरो अंक समेत जोड्न सकेनन् ।
रौतहटलाई सस्तैमा समेट्न बाराको तर्फबाट कुमार थापाले ४, अरनिको यादवले ३, पवन सर्राफले २ र अनिल कुमार साहले १ विकेट लिए । रौतहटलाई पराजित गरेसँगै बाराले पनि सेमिफाइनलको यात्रा तय गरेको छ । यसअघि जनकपुरधाम पनि सेमिफाइनलमा पुगिसकेको छ ।
आइतबारको दोस्रो खेलमा पर्साको टिमले सर्लाहीलाई ७ विकेटले पराजित गरेको छ । सर्लाहीले दिएको ८५ रनको झिनो लक्ष्य पर्साले ३ विकेटको क्षतिमा पूरा गर्यो । पर्साका लागि इमरान शेषले ३८ रन बनाए भने सुरज पटेलले २१ र सफवन अलीले ५ रनको अविजित पारी खेले ।
सर्लाहीको बलिङ्गमा सुमन शुक्लाले तिन विकेट लिए । यसअघि पहिले ब्याटिङ्ग गरेको सर्लाहीको टिम पर्साको बलरसामु टिकेर ब्याटिङ्ग गर्न सकेनन् ।
सर्लाहीका लागि सुमन शुक्ला २३, विवेक ठाकुर १५, बिशाल पटेलले १० रन बनाउनु बाहेक अन्य कुनै ब्याट्स म्यानले दोहोरो अंकको स्कोर बनाउन सकेनन् ।
पर्साका लागि सम्साद मन्सुरी ४ र नसुरद्दिन अन्सारीले २ विकेट लिएका थिए भने अल्फाज मन्सुरी, रञ्जित यादव र सेराजुल मियाँले एक/एक विकेट लिए ।
प्रतियोगिताको पाँचौ दिन सोमबार बिहान ९ बजेदेखि विराटनगर र सर्लाहीबिच पहिलो तथा दिउँसो १ः४० बजेदेखि काठमाडौं र सप्तरीबिच दोस्रो खेल हुने आयोजकले जनाएको छ ।