महोत्तरी - गौशाला नगरपालिका–४ रजखोर (पछबरिया टोल) स्थित गौशाला बहु सांस्कृतिक कला केन्द्रले समा–चकेवा प्रतियोगिता आयोजना गर्ने भएको छ । आगामी कार्तिक १८ गते बेलुका ६ बजे हुने प्रतियोगिताले स्थानीय परम्परा जगेर्ना र सामुदायिक सहभागिता प्रवर्द्धन गर्ने उद्देश्य राखेको आयोजक संस्थाले जानकारी दिएको छ ।
प्रतियोगितामा परम्परागत विधिअनुसार समा–चकेवा खेल प्रस्तुत गर्नुपर्नेछ । विजयी समूहलाई क्रमशः प्रथम पुरस्कार नगद ३ हजार रुपैयाँ, द्वितीय पुरस्कार २ हजार रुपैयाँ, तृतीय पुरस्कार १ हजार रुपैयाँ तथा प्रशंसापत्र प्रदान गरिनेछ ।
प्रतियोगितामा सहभागी हुन चाहने समूहले मंसिर १७ गते बिहान १० बजेभित्र नाम दर्ता गराउनुपर्नेछ । नाम दर्ताका लागि ९८१७८७७७१८ र ९८२४८९४४५६ नम्बरमा सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ ।
जिल्लामा मनाइने समा–चकेवा पर्वको मौलिकता जोगाउँदै युवा तथा बालबालिकामा सांस्कृतिक चेतनाको विकास गर्ने अभिप्रायसहित प्रतियोगिता आकर्षक र मनोरञ्जनात्मक हुने आयोजक पक्षको भनाइ छ ।




