
काठमाडौँ – नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुले आगामी बिहीबार शपथ लिने भएका छन्। आगामी बिहीबार दिउँसो १ बजे संसद भवनमा शपथ लिने संसद सचिवालयका महासचिव भरतराज गौतमले जानकारी दिए। प्रतिनिधिसभा सदस्यमा प्रत्यक्ष निर्वाचित १ सय ६५ र समानुपातिकका १ सय १० गरी २ सय ७५ सांसदले ज्येष्ठ सदस्यबाट शपथ लिनेछन्।
संविधानअनुसार प्रतिनिधि सभामा निर्वाचित सांसदले पहिलो बैठकमा भाग लिनुअघि संघीय कानुनअनुसार शपथ लिनुपर्ने हुन्छ। नयाँ संसदमा सभामुख र उपसभामुख रिक्त हुने भएकाले सांसदहरुले आफूहरुमध्येको जेष्ठ सदस्यबाट शपथ लिनेछन्। जेष्ठ सदस्यलाई भने पहिला राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ गराउने छिन्। प्रतिनिधिसभाका ज्येष्ठ सदस्य राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सांसदहरुलाई शपथ खुवाउने छन्।
यसअघि २०७४ को निर्वाचनबाट चुनिएका प्रतिनिधि सभा सदस्यलाई शपथ नखुवाइकनै केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारमा सहभागी गराएपछि आलोचना भएको थियो। यस पटक सरकार गठन गनुअगावै सांसदहरुलाई शपथ खुवाउने तयारी गरिएको छ।
मातृभाषामा शपथ लिने सांसदहरुले तीन दिनअगावै सूचना दिनुपर्ने अभ्यास छ। राष्ट्रपति भण्डारीले सात दिनभित्र सरकार गठन गर्न आइतबार दलहरुलाई आह्वान गरेकी छन्।
यसअघि २०७४ को प्रतिनिधिसभाका जेष्ठ सदस्य महन्थ ठाकुरले सांसदहरुलाई शपथ गराएका थिए भने पहिला राष्ट्रपति भण्डारीबाट आफूले शपथ लिएका थिए।
संविधानको धारा ९१ (५) मा सभामुख र उपसभामुखको निर्वाचन नभएको अवस्थामा जेष्ठ सदस्यले प्रतिनिधि सभाको बैठकको अध्यक्षता गर्ने व्यवस्था छ। प्रतिनिधि सभाका सदस्यहरुले शपथ लिएपछि जेष्ठ सदस्यले बैठकको अध्यक्षता गरेर सभामुख र उपसभामुखको चयनको प्रक्रिया अगाडि बढाउने छन्। संविधानको धारा ९१ (१) मा सभामुख र उपसभामुखको निर्वाचनसम्बन्धी व्यवस्था छ।
