पर्सामा विवाह समारोहमा विवाद भएपछि झडप हुँदा एक युवकको मृत्यु भएको छ ।
विवाह समारोहमा विवाद भएपछि दुई पक्षबीच झडप हुँदा जगरनाथपुर गाउँपालिका-३ ठेकरिया बड्गुका ३६ वर्षीय सैमुल्लाह राउत गद्दीको मृत्यु भएको हो ।
सहरूम राउत गद्दीको छोरा २२ वर्षीय साबिर राउत गद्दीको विवाहमा झडप हुँदा सैमुल्लाहमाथि कुटपिट भएको थियो । कुटपिटबाट गम्भीर घाइते भएका सैमुल्लाहको उपचारका क्रममा वीरगञ्जस्थित नारायणी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।
प्रहरी नायब उपरीक्षक गिरीका अनुसार सैमुल्लाहलाई अस्पताल पुर्याइएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । गएराति ११ बजेतिर साबिरको विवाहमा नाचगान गर्ने दुई पक्षबीच विवाद भएको थियो । सैमुल्लाहले नाच्न नदिएको दुलाहा साबिर, काका जादुल राउत गद्दीलगायतले उनीमाथि कुटपिट गरेको स्थानीयले बताएको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।
सैमुल्लाहको शव पोष्टमार्टमपछि आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।




