काठमाडौं। संसदको तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा दाबी पेस गर्न राष्ट्रपति कार्यालय जान लागेका छन्।
संविधानको धारा ७६ (२) बमोजिम आइतबार साँझ ५ बजेसम्म प्रधानमन्त्रीमा दाबी पेस गर्न समय भएकाले प्रचण्ड एमालेसहितका दलका सांसदको हस्ताक्षर लिएर शितल निवास जान लागेका हुन्।



राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीमा दाबी पेस गर्न दिएको समय सकिन केही समय मात्र बाँकी छ।
एमालेलगायतका दलले नयाँ सत्ता समीकरण गर्दै माओवादी संसदीय दलका नेता पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने सहमति गरेका छन्। एमाले नेतृत्वमा बनेको नयाँ गठबन्धनका दलहरूका सांसदका हस्ताक्षर संकलन भइरहेको प्रचण्डको सचिवालयले जनाएको छ।
हाल प्रतिनिधिसभामा २७४ मध्ये २ सय ७३ जना सांसद छन्। २ जना निलम्बनमा छन्। सरकार गठनका लागि १३७ सिट आवश्यक पर्छ। कांग्रेस (८९) लाई बाहिर राखेर एमाले (७८), माओवादी केन्द्र (३२), राष्ट्रिय स्वतन्त्र पार्टी (२०) र राष्ट्रिय प्रजातन्त्र पार्टी (१४) मिल्दा १४४ सिट पुग्छ। त्यसमा जसपा र नेकपा एकीकृत समाजवादी थपिए १६६ सिट पुग्नेछ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आइतबार बसेको बैठकले दाहाललाई आधा कार्यकालका लागि प्रधानमन्त्रीको रूपमा अघि सारेको हो। साढे २ वर्षपछि एमालेले प्रधानमन्त्री लिनेछ।
दुई वा सोभन्दा दलहरुबीच गठबन्धन गरेर बहुमतको सरकारमा दाबी पेस गर्न दिइएको समयसीमा सकिनै लाग्दा दलहरूले प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल कांग्रेसलाई बाहिर राखेर फरक समीकरण बनाइएको छ।




