विजयकुमार साह/ढल्केबर
धनुषाको मिथिला नगरपालिकाको ढल्केबरमा सञ्चालित होटेलहरुलाई खाद्य स्वच्छताका आधारमा स्तरीकरण लोगो वितरण गरिएको छ ।



बिहीबार खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधाम, मधेश प्रदेशले खाद्य स्वच्छताका आधारमा यहाँका होटेललाई स्तरीकरण लोगो वितरण गरेको हो ।
मिथिला नगरपालिका क्षेत्रभित्र सञ्चालित १५ वटा होटेललाई स्तरीकरण लोगो वितरण गरिएको खाद्य तथा गुण नियन्त्रण कार्यालय मधेश प्रदेशका खाद्य अनुसन्धान अधिकृत प्रवीण तिवारीले बताए ।
उनका अनुसार खाद्य स्वच्छताका आधारमा होटेल स्तरीकरण गर्नेसम्बन्धी निर्देशिका, २०७४ मा भएको व्यवस्थाअनुसार विभिन्न ५० सूचकलाई आधार मानेर होटेलको स्तरीकरण मूल्याङ्कन गरिएको हो । एउटा सूचकलाई दुई नम्बर दिएर मूल्याङ्कन गर्दा ९० भन्दामाथि अङ्क ल्याउने अति उत्तम (तीन वटा स्टारसहितको हरियो, ८०–८९ अङ्क ल्याउने उत्तम (दुई वटा स्टारसहितको हरियो), ६५–८० अङ्क ल्याउने सन्तोषजनक (एउटा स्टारसहितको हरियो) र ५०–६४ अङ्क ल्याउनेलाई सामान्य (पहेँलो) लोगो वितरण गरिएको अधिकृत तिवारीले जानकारी दिए।
मधेस प्रदेश खाद्य तथा गुण नियन्त्रण कार्यालयका प्रमुख विजय खनालले यो अभ्यासले गुणस्तरीय सेवा प्रभाहमा सहयोग पुग्ने बताए। स्तरीकरणको लोगो प्रदान भएपछि अन्य होटेलहरु पनि जिम्मेवार भएर स्वच्छतामा ध्यान दिने उनले जानकारी दिए।
लोगो वितरण गर्नु १५ दिनअगाडि नै स्वच्छतासम्बन्धी जानकारी दिने उद्देश्यले यहाँका होटेल व्यवसायीलाई जम्मा गरेर अन्तरक्रिया कार्यक्रम गरिएको कार्यालय प्रमुख खनालले बताए।




