महोत्तरी-महोत्तरीमा निकै चर्चा पाएको नेहा चौधरी र पंकज चौधरीको दाइजो र घरेलु हिंसा मुद्दामा पंकज चौधरीलाई जेल चलान गरिएको छ।
दाइजो सम्बन्धी कसुरमा महोत्तरी जिल्ला अदालतले रामगोपालपुर नगरपालिका ५ का डा.पंकज चौधरीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।



उनकी पत्नी औरही–१ की २१ वर्षीया नेहा चौधरीले दायर गरेको दाइजोसम्बन्धी कसुर मुद्दामा शुक्रबार भएको थुनछेक बहसमा जिल्ला अदालत महोत्तरीका न्ययाधीश हरिप्रसाद शर्मा उपाध्यायको एकल इजलासले उनलाई थुनामा पठाउन आदेश दिएको हो।
गत वर्षको फागुन २५ गते नेहा र पंकजबीच सामाजिक परम्परा अनुसार विवाह भएको थियो। त्यसको ७ महिनापछि नेहाले गत कात्तिक २५ मा फेसबुकमार्फत् दाइजोका नाममा श्रीमान र परिवारका अन्य सदस्यले आफूमाथि हिंसा गरिरहेको बताएकी थिइन्।
पंकजले आफूलाई घरमै छाडेको र काठमाडौंमा सँगै राख्न अनुरोध गर्दा दाइजोमा घर माग्दै हिंसा गरेको भन्दै नेहाले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा जाहेरी दिएकी थिइन्।
नेहाको तर्फबाट वकालत गरिरहेकी वकिल रिंकु यादवका अनुसार नेहाले श्रीमान पंकज र परिवारका सदस्यविरूद्ध बकसपत्र बदर, जालसाजी, घरेलु हिंसा, दाइजो, मानाचामल र अंश मुद्दा दिएकी छन्।
उनका श्रीमान पंकजले भने सम्बन्ध विच्छेदको मुद्दा दायर गरेका छन्।




