जनकपुरधाम- जनता समाजवादी पार्टी (जसपा)को मधेश प्रदेश संसदीय दलको नेता सर्वसम्मत रूपमा चयन गर्न असफल भएको छ ।
आज शुक्रवार संसदीय दलको नेता चयन गरिने तय भएपनि सर्वसहमती हुन नसकेपछि दलको नेता छनौट हुन नसकेको जनकपुरधाम उपमहानगरपालिकाका पूर्वमेयर तथा जसपा नेता लालकिशोर साहले जानकारी दिए।



दलको नेता छान्न जनकपुरधाम उपमहानगरपालिकाका पूर्वमेयर तथा जसपा नेता लालकिशोर साहको संयोजकत्वमा तीन सदस्य समिति गठन गरेको थियो ।
बिहीबार र शुक्रबार जनकपकुरमा चलेको समिति तथा संसदीय दलको बैठकमा दलको नेता चयन गर्ने प्रयास असफल भए पछि पार्टीले संसदीय दलको नेता चयन गर्ने जिम्मा पार्टी अध्यक्ष उपेन्द्र यादवलाई दिएको छ ।
मधेश प्रदेशमा संसदीय दलको नेता बन्न जसपा भित्र मुख्यमन्त्री लालबाबु राउत, निवर्तमान सभामुख सरोज यादव र जसपा दलका निवर्तमान नेता रामअशिष यादवले दाबी गरिरहेका छन् । राउतलाई दबाबमा राख्न सरोज यादवले रामअशिष यादवको नाममा सर्वसहमति गरे आफू पछाडि हट्न तयार रहेके बताउँदै आएका छन् । तर, राउत पछाडि हट्न नमानेको अवस्था रहेको छ।
राउतले निर्वाचन गरी आजै दलको नेता छान्नुपर्ने जोडबल गरेका थिए । तर बैठकमा सहभागी अधिकांशले सर्वसहमतीबाट नेता चयन गर्नुपर्ने अडान लिएपछि सो जिम्मा अध्यक्षलाई दिइएको बैठकमा सहभागी एक संसादले बताए।
बैठकले लालबाबु राउत, रामअशिष यादव, सरोज यादव, सरोज सिंह कुशवाहा, संजय यादव, अब्दुल कलाम, बच्चा राउत अहिर, शोभा साह र मनिष सुमनमध्ये बाट एकजना चुन्ने जिम्मा अध्यक्ष यादवलाई दिएको हो ।
बिहीबार दलको बैठकले मधेश प्रदेश जसपा संसदीय दलको विधान २०७४ संशोधन सहित पारित गरेको थियो ।
यस कारण दलका नेता हुन तछाडमछाड गर्दै छन् नेताहरु
जसपा मधेश प्रदेशसभाको १६ सांसद सहित तेश्रो शक्ति रहेको छ । चौथो शक्ति जनमत पार्टीको संसदीय दलको नेता छान्ने जिम्मा डा. सिके राउतलाई दिएको थियो । र डा. राउतले महेश प्रसाद यादवलाई दलको नेता चयन गरेका थिए ।
यो प्रदेशमा जसपा निणर्ायक शक्ति रहेकाले उसले आफ्नो नेतृत्वमा पुनः सरकार बनाउने लविंग गरिरहेको छ । जो जसपाको दलको नेता बन्छन् उनको मुख्यमन्त्री हुने सम्भावना प्रवल रहेको छ।
यसरी मधेश प्रदेशमा जसपा कै मुख्यमन्त्री बन्ने निश्चित भएकाले दलको नेताका लागि तछाडमछाड भइरहेको छ ।
सभामुख रहिसकेका सरोज कुमार यादव, दलको उपनेता रहिसकेका रामअशिष यादव र मुख्यमन्त्री लालबाबु राउत दलको नेतामा दाबी गरिरहेका छन् ।
राउत पाँच वर्ष मुख्यमन्त्री रहँदा भ्रष्टाचार लगायतका अनेक विवादमा परेको आरोप विपक्षीहरुले लगाउने गरेका छन् । राउतको कार्यकाल असफल रहेको र मधेश प्रदेश सरकारको कारण स्थानीय, प्रदेश र प्रतिनिधि सभाको चुनावमा पार्टीलाई क्षति पुगेको धारणा हालै सम्पन्न राजनीतिक समितिको बैठकमा अध्यक्ष उपेन्द्र यादवले राखेका थिए।
जसपामा १६ जना सभासद छन् । दलको नेताका लागि दाबेदारी गरेका तीनै जनाले आफ्नो पक्षमा बहुमत देखाउने कसरतमा लागेका छन् । सर्वसहमतिबाट नेता चयनको पक्षमा मुख्यमन्त्री राउत नरहे पनि सभामुख सरोज कुमार र उपनेता रहेका रामअशिष यादव सहमतिबाट नै हुनुपर्ने धारणा राखेका छन् ।
मुख्यमन्त्री राउतले नेकपा एमालेका सचिव समेत रहेका मधेश प्रदेशका इञ्चार्ज रघुवीर महासेठसित बुधबार राति लामो बैठक गरी सहयोगका लागि आग्रह गरेको स्रोतले जनाएको छ ।
नेता महासेठले चियाका लागि घरमा बोलाएकाले भेट्न गएको बताउँदै राउतले भने, “जसपा संसदीय दलको नेताको विषयमा कुनै छलफल भएन् । तर दुबै जना बीच लामो समय एक्लाएक्लै वार्ता भएको हो ।”
दलको नेता छान्न जसपाका सभासदहरु जुटेका छन् । केही सभासदहरुलाई मुख्यमन्त्री राउतले रात्री भोज दिएको स्रोतले जनाएको छ । चुनाव भए जित सुनिश्चित रहेको मुख्यमन्त्री निकट नेताहरुको दाबी छ । तर चुनाव हुने संभावना न्यून रहेको सभासदहरु बताउँछन् ।
राउत पनि सर्वसहमतिबाट नै दलको नेता चुनिएका थिए । त्यती बेला पनि नेताका लागि ४ जनाले दाबी गरेका थिए ।
संघीय गठबन्धन कै आधारमा जसपा, एमाले र माओवादी केन्द्रबीच भएको सहमति अनुसार जसपाले सरकारको नेतृत्व गर्ने पहिलो अवसर पाउने छ । संघीय सरकारमा जसपा हाल सहभागी भइसकेको छैन् ।
यद्यपि पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीका लागि पेश गरेका सांसदहरुको सूचीमा जसपाको पनि समर्थन छ । जसपाको तर्फबाट अध्यक्ष यादवले नै हस्ताक्षर गर्नुभएको छ। केन्द्रमा पुस २६ गते प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने कार्यसूची प्रतिनिधि सभाको राखिएकोछ । त्यस अगाबै जसपाका अध्यक्ष यादवले मधेश प्रदेश सरकारको नेतृत्वमा सुनिश्चितता खोजेका छन्। प्रदेश सरकारको नेतृत्व गर्ने अवसर जसपाले पाउने निश्चित रहेकाले नै दलको नेताको आकर्षण बढेको छ ।
नेता छान्न चुनाव हुने संभावना नरहेको सरोज यादवले दाबी गर्नुभयो । यता मधेश प्रदेश संसदीय दलको नेताका लागि नेपाली कांग्रेसमा मात्र चुनाव भएको छ । जनमत पार्टीले महेश यादव र नेकपा एमालेले सरोज यादवलाई सर्वसम्मतबाट नै दलको नेता चयन गरेकोछ ।





