काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले २०६३ सालमा रौतहटको गौरमा भएको घटनामा जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवसहित १३० जनामाथि अनुसन्धान गरि मुद्दा चलाउन सिफारिश गरेको छ।
मानव अधिकार आयोगको पुस १९ गते बसेको बैठकले तत्कालीन मधेशी जनअधिकार फोरमका अध्यक्ष यादवसहित १३० जनामाथि अनुसन्धान गर्न सिफारिश गर्ने निर्णय गरेको हो।
आयोगले पीडित परिवारले किटानी जाहेरी दिएका ६६ जना र सरकारले गठन गरेको आयोगले दोषी ठहर गरेका ६४ गरी १३० जनामाथि अनुसन्धान गर्न सिफारिश गरेको हो।
आयोगको निर्णयमा भनिएको छ, उल्लेखित व्यक्तिहरु उपर तत्काल अनुसन्धान तहकीकात गरी दोषी देखिएका व्यक्तिहरु उपर अभियोग दर्ता गराउने कार्य गरी सो को जानकारी यस आयोगलाई गराउन र प्रत्येक तीन तीन महीनामा आयोग समक्ष प्रगति प्रतिवेदन पठाउन।
२०६३ चैत ७ गते रौतहटको गौरमा तत्कालीन नेकपा (माओवादी) र मधेशी जनअधिकार फोरमले आयोजना गरेको आमसभामा झडप हुँदा माओवादीका २७ जना कार्यकर्ताको ज्यान गएको थियो भने झडपमा ११५ जना घाइते भएका थिए।