
सप्तरी- डाक्नेश्वरी नपा–९ की दुर्गादेवी साहलाई “बोक्सी”को आरोप लगाएर अमानविय व्यवहार गरेको आरोपमा सोही ठाउँका ५२ वर्षीय बिजली साहलाई ०७९ पुस २० गते ६ महिना कैद र ५ हजार रुपियाँ जरिवाना भएको छ ।जिल्ला न्यायाधीश लालकाजी श्रैष्ठको इजलाशले आरोपितलाई कैद र जरिवानाको फैसला गरेको अदालतका सूचना अधिकारी भरतमणि पोखरेलले जानकारी दिनुभयो ।
अन्य आरोपितहरु सोही ठाउँका ५९ वर्षीय तुलसी साह, ५० वर्षीया मीनादेवी साह र २३ वर्षीय विशाल साहले सफाई पाएका छन् । ०७८ फागुन ३० गते गिरफ्तार भएका तुलसी पुर्पक्षका लागि २० हजार रुपियाँ धरौटीमा रिहा भएका थिए । यस्तै ०७९ भदौ ९ गते अदालतमा हाजिर भएका मीनादेवी र विशाल पुर्पक्षका लागि जनही १ लाख रुपियाँ धरौटी राखेर रिहा भएका थिए ।
आरोपितहरुले ०७७ मङ्सिर ५ गते “बोक्सी” भन्दै गालीगलौज र कुटपिट गरेको आरोप लगाउँदै पीडित दुर्गादेवीले दिनु भएको उजुरी उच्च अदालत जनकपुर राजविराज इजलाशको परमादेशपछि मात्र जिल्ला प्रहरी कार्यालयले ०७८ मङ्सिर ५ गते दर्ता गरेको थियो ।
गिरफ्तार भई अभियुक्त ठहरिएका बिजली ०७८ मङ्सिर २८ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् । अदालतले ढिलो फैसला गर्दा उनी तोकिएको कैद सजाय भन्दा ६ महिना २२ दिन बढी बस्नु परेको छ ।