धनुषा- जनकपुरधाम उप–महानगरपालिकाले सर्वसाधारणहरुलाई चिसो छल्नका लागि नगर भित्रका चोक–चोकमा दाउरा वितरण गरेको छ ।
लगातार चल्ने चिसो हावा र शीतलहरले जनजीवन कष्टकर बन्दै गएपछि नगरपालिकाले नगर क्षेत्रको विभिन्न स्थानमा आगो ताप्न दाउराको व्यवस्थापन गरेको जनाइएको छ ।
वन डीभिजन कार्यालय गौशालाबाट ल्याइएको चार ट्रक दाउरा नगर भित्रको चोकहरु मध्ये विद्यापति चोक,जनक चोक,शिव चोक,राम चोक,शुभ चोक लगायतको शहरी क्षेत्रका विभिन्न चोक तथा टोलमा वितरण गरिएको नगर प्रमुख सचिवालयका बद्री नारायण यादवले बताए । विपद् व्यवस्थापन कार्यक्रम अन्र्तगत दुई लाखको खर्चमा सो दाउरा वितरण गरिएको छ ।
शहरी क्षेत्रका चोकहरुमा दाउरा वितरण गरिए पनि ग्रामीण वडाहरुमा भने अझै पनि दाउरा वितरण गर्न बाँकी नै रहेको बताइएको छ ।
यता वितरण गरिएको दाउरा अत्यन्त न्यून रहेको र एक दुई दिन पनि नचल्ने गुनासो नगरवासीहरुले गरेका छन् । चिसो र शीतलहरको कारण यस क्षेत्रको जनजीवन अत्यन्त कष्टकर बन्दै गएको छ भने दलित बस्तीमा वृद्धवृद्धादेखि बालबालिका नराम्ररी प्रभावित बनेका छन् । दाउरा वितरण भएपछि ठाँउ–ठाँउमा आगो ताप्ने सर्वसाधारणहरुको भीड देखिएको छ ।