छठ मन्त्रः
एष ब्रम्हा च विष्णुष्च शिवस् स्कन्दस् प्रजापतीस् ।
महेन्द्रोधनदस् कालो यमस् सोमो ह्यपाम्पतिस् ।।
एनमापत्सु क्रिच्छेषु कन्तारेषु भयेषु च ।
किर्तयन पुरुष्स् कष्चिन्नवसिदती राघव ।।।
आदित्य्म सर्बकर्तंरं कलाद्वदाद्शम्युतमं ।
पद्महस्त्द्वयं वन्दे सर्वलोकैकभस्करमं ।।
राकेश यादव (औरही, महोत्तरी) - सूर्य आराधनाको महापर्व छठ आज देशभर श्रद्धा र भक्ति भावका साथ मनाइँदैछ। चार दिनसम्म चल्ने यो पर्वमा सूर्य भगवान र छठी माताको आराधना गरी सन्तानको दीर्घायु, परिवारको सुख–शान्ति तथा समृद्धिको कामना गरिन्छ।
छठ पर्वको पहिलो दिन ‘नहाय खाय’ बाट प्रारम्भ हुन्छ। व्रतालुहरूले नुहाएर शुद्ध भएर बस्छन् र एक छाक मात्र भोजन ग्रहण गर्छन्। दोस्रो दिन ‘खरना’ मा गाईको गोबर र माटोले लिपेर घरको एक भागलाई पवित्र पारेर खिर–पुरी पकाइन्छ। अरुवा चामलमा गंगाजल छर्की पूजा गरी केराको पातमा फलफूल राखी प्रसाद चढाइन्छ र साँझ व्रतालुहरूले पूजा सम्पन्न गरी प्रसाद ग्रहण गर्छन्।
तेस्रो दिन, जसलाई साँझ अर्घ्यको दिन भनिन्छ, घरको आँगन लिपपोत गरी घिउ, सख्खर, नरिवल, ल्वाङ, सुकमेल, छोहडा, सोंप आदि मसलाबाट बनाइने विशेष परिकार ठेकुवा र भुसुवा तयार गरिन्छ। यी परिकारहरू, साथमा उखु, केराको बोट, बेसार, अदुवा, फलफूल, मिठाई लगायतका सामग्रीहरू बाँसको चोयाले बुनेको छैंटी मा सजाइन्छ।
व्रतालुहरू ती सामाग्रीहरू खोला, तलाउ वा नदी किनारमा लैजाँदा छैंटीलाई टाउकोमा बोकेर जान्छन्, जसले श्रद्धा र समर्पणको प्रतीक व्यक्त गर्छ। जलाशय किनारमा गई सूर्य अस्ताउँदो बेला पानीमा डुबुल्की मार्दै सूर्यलाई अर्घ्य दिइन्छ। भोलिपल्ट बिहान पुनः उदाउँदो सूर्यलाई अर्घ्य दिई पूजा सम्पन्न गरिन्छ।
छठ व्रत बस्नेले एक महिना अघिदेखि नै लसुन, प्याज र मांसाहार त्याग गरी सात्विक भोजन ग्रहण गर्ने परम्परा रहिआएको छ।
जनकपुरको गंगासागर, धनुषासागर, बोक्सीदह, वीरगञ्जको बिन्द्यबासिनी, काठमाडौंको रानीपोखरी र बागमती किनार लगायत देशभरका जलाशयहरूमा छठ पर्वको अवसरमा विशेष सजावट गरिएको छ। जलाशय वरपर छठी माईका भजन र कीर्तन गुञ्जिरहेका छन् भने केराका थम्बा र झिलमिल बत्तीले सम्पूर्ण क्षेत्र झकिझक परेको छ।
धार्मिक ग्रन्थका अनुसार महाभारत कालमा कर्णले प्राप्त गरेको ऐश्वर्य र शक्ति छठ व्रतको प्रभावस्वरूप थियो भने द्रौपदीले पनि छठको व्रत लिएर संकट टारेकी उल्लेख पाइन्छ। यस कारण यो पर्वलाई धर्म, प्रकृति र मानव सभ्यताको अनुपम उदाहरणका रूपमा मानिन्छ।
छठ संगै चाडपर्वको लहर केही मत्थर भई अब कृषक समुदाय धान काट्ने, दाउनी गर्ने र नयाँ अन्न भित्र्याउने कार्यमा जुट्ने परम्परा पनि रहँदै आएको छ। नयाँ धानका चिउरा छठमा चढाउने चलनले प्रकृतिसँगको घनिष्ठ सम्बन्ध झल्काउँछ।
यस पर्वले सूर्य र जलको आराधनाद्वारा प्रकृति, ऊर्जा र जीवनको एकता प्रतिपादन गर्छ। सूर्यको तेजस र पानीको शीतलताले पृथ्वीका प्राणीहरूलाई जीवन प्रदान गरिरहेकामा आभार प्रकट गर्ने पर्व हो छठ।
यस वर्ष पनि अन्य वर्षझैँ पानी र सूर्य दुबैको कृपा रहोस्, प्रकृति हरियालीले मुस्काओस्, जनजीवनमा शान्ति र समृद्धि छाओस् — यही कामना गर्दै सबैमा छठी माईको जयघोष छाओस्।
“जलचर–थलचर सबैको कल्याण होस्,प्राणीमा प्राण रहोस्,धर्मको जय होस् - छठी माताले सबैको मंगल गरून्।” 🌞🌾🙏




