जनकपुरधाम- पटक–पटक कार्यकारी पदमा रही अनुभव बटुलेका सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । यसअघि संघीय सरकारमा दुईपटक राज्यमन्त्री र मधेस प्रदेशका सभामुख भइसकेका उनी मुख्यमन्त्री बनेका हुन्।
बारा निर्वाचन क्षेत्र नम्बर १ को (२) बाट उनी एमाले र जसपाबीचको चुनावी तालमेलमा उनी प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएर दोस्रो पटक निर्वाचित भएका हुन् । यसअघि २०७४ मा तत्कालीन राजपाबाट प्रदेश सभामा यही क्षेत्रबाट प्रत्यक्ष तर्फ निर्वाचित भएका थिए ।
राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीबाट राजनीति सुरु गरेका उनी पहिलो पटक तत्कालीन राजपाबाट चुनावी प्रतिस्पर्धामा थिए भने यसपटक जसपामा प्रवेश गरी उम्मेदवारी दिएका थिए । दोस्रो पटकको चुनावमा उनको क्षेत्रमा गत मंसिरको चुनावमा वाम लोकतान्त्रिक गठबन्धन थिएन । कांग्रेस र नेकपा एसको छुट्टै उम्मेदवार सित प्रतिस्पर्धा गरी ४ हजारभन्दा बढी मतान्तरले नजिकका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार नागेन्द्र साहलाई पछि पार्दै विजयी भएका थिए ।
२४ वर्षकै उमेरमा वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा पढ्दापढ्दै तत्कालीन हरिहरपुर गाविसको अध्यक्षमा पहिलो पटक निर्वाचित हुँदै उनी राजनीतिक यात्रा थालेका थिए । २०५९ सालसम्म उनी गाविस अध्यक्ष हुँदा लोकप्रियता कमाएका थिए।
२०३० सालमा जन्मिएका उनी सिम्रौनगढ नगरपालिका–३ नयका टोला निवासी हुन् । भारतीय सीमावर्ती क्षेत्रका उनको भारत बिहारका नेतासित राम्रो सम्बन्ध छ । गाँउ आसपासमा धार्मिक, शिक्षा, सामाजिक र स्वास्थ्य क्षेत्रमा उनका परिवारले जग्गा र नगद दान गरेकाले यसक्षेत्रमा उनको परिवारको योगदान छ ।
धनाढ्य परिवार (जमिन्दार) का उनका स्वर्गीय पिता प्रमानन्दप्रसाद यादव पनि पञ्चायतकालमा गाउँ पञ्चायतका मुखिया हुँदै प्रजातन्त्रपछि सद्भावना पार्टीका नेता थिए ।
सद्भावना पार्टीका उनी महासचिव थिए । जसपा, लोसपा, सद्भावनालगायतका मधेसकेन्द्रित दल एकीकरण भएर राजपा बन्दा उनी राजपाका राष्ट्रिय उपाध्यक्ष बनेका थिए । उनले प्रवीणता प्रमाणपत्र तह (आईएससी) सम्म अध्ययन गरेका हुन् । माध्यमिक शिक्षा गाउँनजिकै सिम्रौनगढस्थित कंकाली माविबाट लिएका हुन् ।
२०६४ सालको पहिलो संविधानसभा सदस्यमा बारा क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ सद्भावना पार्टीबाट निर्वाचित हुँदै संसदीय यात्रा सुरु गरेका थिए ।
तत्कालीन मधेसी जनाधिकार फोरमका उम्मेदवार रामबाबु यादवलाई पराजित गरी उनी विजयी भएका थिए । त्यसबेला नेकपा माओवादीको सरकार थियो ।
पुष्पकमल दाहाल र बाबुराम भट्टराई नेतृत्वको सरकारमा सद्भावना पार्टीबाट उनी पहिलो पटक संघीय स्वास्थ्य राज्यमन्त्री र दोस्रोपटक उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री बने ।
२०७० मा भने फेरि यसै क्षेत्रबाट दोस्रोपटक संविधानसभा सदस्यमा उम्मेदवार बन्दा कांग्रेसका उम्मेदवारसँग पराजित भए । २०७४ मा बारा निर्वाचन क्षेत्र १ को (२) बाट प्रदेशसभा सदस्यमा तत्कालीन राजपाबाट विजयी भई मधेस प्रदेशका सभामुख बनेका थिए ।
पाँच वर्षसम्म सभामुखको अनुभव बटुलेका उनले २०७९ को चुनावमा सोही क्षेत्रबाट एमालेको तालमेलमा जसपाको तर्फबाट उम्मेदवार भएर विजयी भई मुख्यमन्त्री भए ।