ढल्केवर- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजना र मिथिला नगरपालिकाको समन्वयमा मानव अधिकार समुहका सदस्य र सरोकारवालाहरूको लागि दुई दिने क्षमता अभिवृद्धि तालिम पुस २९ गते देखि सुरु भएको छ।
मिथिला नगरपालिका १० लालगढ स्थित बौआ होटेलमा संचालन भएको कार्यक्रमको उद्घटान सत्रलाई सम्बोधन गर्नुहुँदै नगरपालिकाका नगर उपप्रमुख सुनिता सिंह बुढाथोकीले मानव अधिकारकासवाललाई नीति तथा कार्यक्रममा समेटने बताउनुभयो।
उपप्रमुख बुढाथोकीले समुदायमा रहेका मानव अधिकारका आधारभूत सवालमा इन्सेकसँग सहकार्य गरी कार्यगर्ने प्रतिवद्धता समेत जनाए।
उपप्रमुख बुढाथोकीले सामाजिक बिकृति, विसंगति अन्त गर्न सबैको भूमिका अपरिहार्य रहेको बताउँदै उनले हिंसा, कुरिती र कमजोरी लुकाएर नभई उजागर गरेर समाधान खोज्नु पर्ने आवश्यक्ता रहेको बताए।
मधेस प्रदेश संयोजक राजु पासवानले स्थानीय निकायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउन इन्सेक हातेमालो गर्न, समन्वय र सहकार्य गरेर समाधान पहिल्याउन तत्पर रहेको बताए।
संयोजक पासवानले समुदायमा रहेका शिक्षा, स्वास्थ्य, वातावरण संरक्षणका सवाल, विभेद विरुद्धको अधिकार लगायतका सवालमा सेवाग्राही र सेवाप्रदायक निकायबीच देखिएका समस्यामा सहजीकरण गर्ने गरी मानव अधिकार शिक्षा कार्यक्रम संचालन गरिएको बताए । स्थानीय समुदायलाई सचेत बनाउदै शिक्षा, स्वास्थ्य, वातावरण संरक्षणका सवालमा मागदावी गर्ने बनाउने कार्यक्रमको मुख्य उदेश्य रहेको संयोजक पासवानले बताए।
दुई दिने तालिममा मधेस प्रदेश संयोजक पासवानले इन्सेकको परिचय, मानव अधिकारको विकास अवधारणा, समाजमा भएको हानिकारक मान्यता, महिला विरुद्धका हिंसाका घटनामा कानुनी प्रावधान लगायतका विषयमा प्रशिक्षण दिइने जानकारी समेत गराए।
यसैगरी इन्सेक महोत्तरी प्रतिनिधि अजयकुमार साहले मौलिक हक तथा कर्तव्य, आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार र नगरपालिकाको भूमिकाका बारेमा सहजिकरण गरे ।
इन्सेकका सहजकर्ता अनिता यादवले संचालन गरेको उक्त तालिमको उदघाटन सत्रको अध्यक्षता मानव अधिकार समूहका अध्यक्ष मोहन कुमार महतोले गरेका थिए।
दुई दिने तालिममा वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, विभिन्न शाखा प्रमुखहरू, मानव अधिकार समुहका पदाधिकारीहरू सहित ५० जनाको सहभागिता रहेको छ।