पत्रकारिता सम्मानित पेशा हो । देश र जनतासंग प्रत्यक्ष जोडिएको घटना र जानकारीलाई लिपिवद्ध गरि जनताकै विचमा पुर्याउने विश्वासिलो माध्यम पत्रकारिता नै हो । पत्रकारिताको कर्म गरिरहदा एउटा पत्रकारले हरेक परिस्थितिमा समाचार लेख्नु पर्ने हुन्छ ।
बाढी,पहिरो,सुख्खा र आगलागी जस्ता विपदको वेला होस वा मानव अस्तित्व नै सखाप पार्नेगरी सम्पुणर् विश्व हल्लाउने कोरोना होस, पत्रकारको कलम रोकिन्न । हरेक ठाउमा भौतिक रुपमै उपस्थित भई जनताको पिडा सरकारसम्म पुर्याई दिने र सरकारको काम कार्यवाही जनता समक्ष पुर्याईदिने अझै पनि विश्वासिलो माध्यम अझैपनि पत्रकारिता नै हो ।
तर एउटा पत्रकारले पत्रकारिता गरिरहदा उसले सामना गर्नु पर्ने चुनौती पनि अथाह छ । पटक पटक सुरक्षा निकाय र कहिले काही जनताबाटै समेत कुटिनु पर्ने,डर र धाकधम्कीको सामना गर्नु पर्ने र अपमानित हुनु पर्ने परिस्थिति प्राय हरेक पत्रकारको जिवनमा आएकै हुन्छ । कहिले आफ्नै लेख्न त्रुटी र कहिले सहि लेख्दा समेत यस्तो परिस्थितिको सामना पत्रकारले गर्नु परेको छ। प्राय शक्तिको अहम्ले मात्तिएको पक्षबाट पत्रकार पिडित हुनु परेको छ । तर पत्रकारले यस्तो परिस्थितिको सामना गरिरहदा पत्रकारकै हकहितको लागि भनिने गरिएको संघ संस्थाहरुले एउटा विज्ञप्ती निकाल्नु मै आफ्नो कर्तव्यको इतिश्री ठान्छन् ।
पत्रकारहरुले आफुले काम गरेको सञ्चार माध्यमबाट समेत समाचार लेखन वापत पाईने पारिश्रमिक समयमा नपाईदा विल्लीबाठकै अवस्थामा पुग्ने गरेका छन । सवारी साधनमा तेल हाल्ने देखि मोबाईल र ईन्टरनेट कै विल तिर्न धौ धौ पर्ने अवस्था प्राय मोफसलमा काम गर्ने प्रायः हरेक पत्रकारको साझा भोगाई हो । मोफसलमा समेत पत्रकारको लागि भनिने संस्थाहरुबाट विज्ञप्तीमात्र निकालेर झारा टार्ने काम गरिन्छ ।
देश कोरोनाको उच्च जोखिममा रहेको वेला ज्यानको माया मारेर पल पलको समाचार संकलन गरेर प्रकाशित र प्रसारित गर्ने पत्रकारले आफु आवद्ध मिडिया हाउसबाट प्रोत्साहन पाउनु पर्नेमा जागिर नै गुमाउनु परेको पिडा झन भयावह छ । सयौ पत्रकारलाई कोरोनाकालमा कामबाट निकालेर मिडिया हाउसहरुले ज्यादती गरेकै हुन । झन आफु आवद्ध मिडिया हाउसबाट सहयोग र प्रोत्साहन पाउनु पर्ने पत्रकारले जागिर गुमाउदा उनका घर परिवार कति दिन आधा छाक खाएर समय विताए । केहिले त पेशा नै परिवर्तन गरे ।
केहि वर्ष पहिले म लगायत केहि सञ्चारकर्मी सुरक्षा निकाय नै पुग्न नसकेको वाढीले डुवानमा परेको क्षेत्रमा पुगेर त्यहाको वस्तु स्थिति बुझी समाचार सम्प्रेशन गरेपछि मात्र सुरक्षा निकाय र सरोकारवाला अन्य निकायको ध्यान उक्त क्षेत्रमा केन्द्रित भयो । र राहत तथा बचाव कार्य गरियो । जलेश्वर कारागार नै डुवानमा परेको वेला भित्रै पुगेर रिपोर्टिंग गरेपछि दुई दिन भोकै वसेका कैदी वन्दीले राहत पाए । तर यि सवै कार्य गरिरहदा सरकारी कर्मचारी र सुरक्षाकर्मी तथा अन्य सहयोगी संस्थाको वाहवाही मात्र भयो । त्यसतो संवेदनशील परिस्थितिप्रति ध्यान आकृष्ट गराईदिने पत्रकारलाई धन्यवाद जस्तो एउटा शव्द समेत कहि कतैबाट व्यक्त भएन । तथापी पत्रकारले फलको चिन्ता नगरि कर्म गरिरहे ।
देशमा हुने हरेक आन्दोलनको प्रत्यक्ष साक्षी र सुचना तथा समाचारको सम्वाहक पत्रकारलाई जनआन्दोलनपछिका कयौं नेता र जनप्रतिनिधीले समेत होच्याउने कार्यमात्र गरेका छन । आफु सत्ता वाहिर हुदा पत्रकारले उठाइएको आवाजको प्रभावमा सत्तामा पुगेका दल तथा नेताहरुले पछि विभिन्न कानुन र परिस्थिति सृजना गरेर पत्रकारकै घाटी निमोठने प्रयत्न गरेको कयौं उदाहरणहरु छन ।
पत्रकारले आफ्नो पेशागत कर्मको लागि विभिन्न निकायसंग सुचना मांग गर्दा सुचनाबाट बन्चित गरिनु अहिले पत्रकारको लागि सामान्य विषय बनिसकेको छ । जति धेरै जनप्रतिनिधी भए, भ्रष्टाचार पनि त्यति नै मौलायो । यता भ्रष्टाचार गर्नमा सरकारी कर्मचारीहरु पनि कम रहेनन् । त्यसैले भ्रष्टाचार हुदा सुचना लुकाउनु स्वभाविक पनि हो । पत्रकारले सुचना पाए समाचार लेख्छ र समाचार लेखिएपछि कार्यवाही हुने भएको कारण सरकारी कार्यालयहरुमा सुचना लुकाइन्छ । त्यसैकारण भ्रष्टाचारले भरिएको स्थानबाट सुचना निकाल्नु सहज छैन । तथापी अझै पत्रकारहरुले सुचनाको हकको अनिवार्यता सम्बन्धी कानुनी व्यवस्थाको प्रयोग गरेर सुचना निकाल्ने र त्यसलाई समाचारका ेमाध्यमले जनसमुदाय बिच प्रेषित गर्न प्रयास भने छाडेका छैनन । केहि स्थानमा पत्रकारले सुचना मांगेको निहँुमा समेत पिडित हुनु परेकै छ ।
तर अरुमाथि यस्ता प्रश्न र गुनासो गरिरहँदा केहि कमी कमजोरी भने पत्रकारमै समेत नभएको होईन । अदक्षता र समाचारको अपुष्टताले समेत पत्रकारको गरिमामाथि वेला वेलामा आँच आउने गरेको तितो यथार्थ पनि छ । पत्रकारिताको सामान्य र आधारभुत ज्ञान र प्रशिक्षणको अभावमा बेखबर भएर गरिने पत्रकारिताले वेला वेलामा पत्रकारमाथि नै संकट ल्याउने गरेकोपनि यथार्थ नै छ ।
कतिपय स्थानमा सत्यता नै नबुझी समाचार लेखिदिने,असत्य समाचार समेत कपि पेष्ट गरिदिने,एक पक्षिय समाचार लेखिदिने,राजनितिक तथा प्रसासनिक दवाव र प्रभावमा परेर समाचार लेखिदिने र दलगत पत्रकारिता जस्ता कार्यले पत्रकारिताको ‘विश्वसनीयता,सत्यता तथा सन्तुलन माथि बेला बेलामा प्रश्न उठ्ने गरेको छ ।
पत्रकारितामा देखिएका यस्ता विकृतिहरुमा सुधार गर्न वढी भन्दा वढी तालिमको आवश्यक्ता छ । तर महोत्तरी र धनुषामा मात्र नभएर सम्पुणर् मधेश प्रदेशमै पत्रकारलाई तालिम दिएर दक्ष बनाउने तर्फ सम्बन्धित निकायहरु सुस्त देखिएका छन ।
स्थानिय निकायहरुले आफनै पालिका स्तरमा पत्रकारिता गर्नेहरुलाई अवसर र तालिम दिनसक्ने भएपनि पालिकाहरुको पत्रकारिता परिस्कृत गर्ने तर्फ ध्यान जान सकेको छैन । यसरी नै प्रदेश सरकार र मातहतका मन्त्रालयहरुले बेला बेलामा आयोजना गर्ने तालिमहरु कागजमै सीमित पारिनु तथा तालिम दिँदा समेत कोरम पुर्याउन मात्र, दलगत पत्रकारहरुलाई जम्मा पारेर बजेट पचाउनुले समग्र पत्रकारिताको विकास र सुदृढिकरण हुनसकेको छैन ।
पत्रकारितामा यति धेरै चुनौती र समस्या हुदा हुदै पनि अवसर भने नभएको होईन । देशमा जस्तो सुकै विषम परिस्थिति आउदा त्यही पत्रकारले देश रक्षाको लागि कलम चलाउने भएकोले अनेक आलोचना तथा समस्याहरु समेतका बाबजुद पत्रकारिता प्रति जनताको भरोसा र सम्मान भने अझै कायम छ । यस पेशामा उर्जावान युवाहरुको उपस्थितिले देशमा सकारात्मक परिवर्तनलाई बल पुर्याउन सक्ने भएकोले पत्रकारिता प्रति आकर्षण वढाउन सम्बन्धीत पक्षहरुले प्रयत्न गर्नु आवश्यक छ । यसको लागि मिडिया हाउसहरु समेत थप सम्वेदनशील र उदार भैदिनु पर्ने हुन्छ । पत्रकारिता पेशामा सहभागितामा अवसरको सृजना गरेर युवालाई आकर्षित गराउनको निम्ती उचित वातावारण,तालिम तथा दक्षता अभिवृद्धिका कार्यक्रम जरुरी छ ।
हाल पत्रकारितामा महिलाहरुको उपस्थितिपनि उल्लेख्य योग्य छ । तर उनीहरु भित्र पेशागत र भौतिक दुबै सुरक्षा भाव दृढ गर्नसके यस पेशामा लाग्न थप महिलाहरुलाई प्रोत्साहित र प्रेरित गर्न सकिन्छ ।
पार्टी पत्रकारिता,व्यक्ति पत्रकारिता,पक्ष वा विपक्ष पत्रकारिता,घरखर्च चलाउने पत्रकारिताको मानसिकताबाट टाढा भई देश र जनताको हितमा गरिने पत्रकारितालाई प्रोत्साहित गर्नसकिए पत्रकार र पत्रकारिताको विकास निश्चित छ ।
पत्रकारितालाई थप मर्यादित र प्रतिष्ठित बनाउन सहयोगी बनौ ! आवाज विहिनको आवाज बन्ने पत्रकारको भविष्य सुनिश्चित गर्न आवश्यक पहल गरौ !
(मिडिया काउन्सिल मधेश प्रदेश जनकपुरधामको आर्थिक वर्ष २०७९/८० को वार्षिक बुलेटिनमा प्रकाशित लेख )