
काठमाडौं- इटालीको मोस्ट वान्टेड माफिया प्रमुखलाई प्रहरीले सिसिलीको एक निजी क्लिनिक अगाडि पक्राउ गरेको छ । एक व्यक्तिलाई क्याफे तर्फ हिँडिरहेको देखेर एक पुलिसकर्मीले उसको नाम सोधे। त्यो मानिसले झूट बोल्ने प्रयास गरेन बरू प्रहरीलाई हेरेर भने, “तिमीलाई थाहा छ म को हुँ। म माटेओ मेसिना डेनारो हुँ।”
त्यतिबेलासम्म ती प्रहरीलाई विश्वास थिएन कि उनले जसको नाम सोध्दैछन् त्यो मान्छे माफिया ‘बोसको पनि त्यो बोस’ हो जसलाई ३ दशकदेखि प्रहरीले खोजिरहेको थियो ।
क्लिनिकमा उपचारका लागि माटेओले एन्ड्रिया बोनाफेडेको नाममा अपोइन्टमेन्ट बुक गरेका थिए। तर वर्षौंको अनुसन्धानपछि र कम्प्युटराइज्ड तस्बिरको सहायताले मात्रै, माटेओको अनुसन्धान गर्ने इटालियन पुलिसले उनीहरूले वर्षौंदेखि खोजिरहेको मान्छे यही हो भनेर विश्वस्त भए।
माटेओ कोसा नोस्ट्रा आपराधिक गिरोहको प्रमुख हुँदा, यो गिरोहले ठगी, अवैध फोहोर फाल्ने, पैसा हेरफेर र लागूऔषध व्यापार जस्ता काम गर्यो। २००२ मा, माटेओलाई धेरै हत्याको लागि दोषी पाइयो। अदालतले यो फैसला सुनाउँदा माटेओ अदालतमा उपस्थित थिएनन् ।
कथित रूपमा, उनी टोटो रेनाको नजिक मानिन्छन्, जो कार्लियोनी माफियाका प्रमुख थिए। २३ वर्षको खोजीपछि सन् १९९३ मा प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
माटेओ मेसिना डेनारो १९९३ देखि भूमिगत थिए । खोजकर्ताहरूले उनलाई तीस वर्षसम्म खोजे, तर उनको पहिचान गर्न माटेओको अनुहारको स्केच मात्र थियो र अडियो टेपहरूमा रेकर्ड गरिएको उनको आवाजको केही नमूनाहरू मात्र थियो ।
पछि, भेनेजुएलादेखि नेदरल्यान्ड्ससम्म उनलाई देखेको खबर आएको थियो। तर अन्तमा उनी सिसिलीको केन्द्र पालेर्मोमा पक्राउ परे।
इटालीकी वरिष्ठ पत्रकार एन्ड्रिया पर्गाटोरीले बीबीसीलाई बताइन्: “उनलाई पक्रन धेरै समय लाग्यो। माफिया नेताहरू जस्तै उनको वरिपरि सहायकहरूको जटिल नेटवर्क थियो, जुन धेरै गहिरो थियो।”
धेरै मानिसहरू माटेओ सोमबार गिरफ्तार हुन यसकारण सम्भव भएको विश्वास गर्छन् किनभने वास्तवमा उनका एक सहयोगीले यो समाचार लीक गरेका थिए। सायद यो सहकर्मीले माफिया किंग बूढो भइसकेका छन् र अब उनको लागि फाइदाजनक छैनन् भन्ने महसुस गर्दै थिए।
एन्ड्रिया पर्गाटोरी भन्छिन्, “एक समय थियो जब इटालीका मोस्ट वान्टेड माफिया नेताहरू पालेर्मोको सडकमा स्वतन्त्र रूपमा हिँड्ने गर्थे। कोसा नोस्ट्राको लागि पालेर्मो यसको मुख्य आधार बन्यो।”
अन्ततः तिनीहरूले यस व्यस्त शहरको बीचमा एक सार्वजनिक स्थानमा माटेओलाई समाते। तर प्रहरीले ३० वर्ष खोजीपछि उनलाई कसरी समात्यो ?
एक प्रेस सम्मेलनमा, प्रहरीले माटेओको बारेमा कसैले उनीहरूलाई सूचना दिएको कुरालाई खारेज गर्यो।
अनुसन्धानका लागि पुरानो पद्धति अपनाएको र शंकास्पदलाई पक्राउ गर्न आधुनिक प्रविधिको प्रयोग गरेको प्रहरीले जनाएको छ ।
रोमको लुइस युनिभर्सिटीका प्राध्यापक र वकिल मित्या जलुज भन्छन्, “वर्षौंको दौरान माटेओ मेसिना डेनारोको वरिपरि उनका वफादार र उनको नेटवर्कमा रहेका व्यक्तिहरूको पर्खाल बनाइएको थियो।”
लगभग एक दशकको लागि, प्रहरीले धेरै मानिसहरूलाई गिरफ्तार गर्यो जसले माटेओलाई सहयोग गरेको शंका थियो। यस क्रममा उनका परिवारका सदस्यसहित सयभन्दा बढीलाई पक्राउ गरिएको थियो । यससँगै उनीसँग सम्बन्धित १३ करोड डलरको कारोबार पनि जफत भएको छ ।
पत्रकार टियो लुज्जी भन्छन्, “बिस्तारै उसको वरिपरिको नेटवर्क कमजोर हुँदै गयो… जसका कारण उनी समयसँगै झन्झन् एक्लो हुँदै गए।”
यसैबीच, माटेओका परिवारका सदस्यहरूको फोन ट्यापिङ पनि जारी छ। उनीहरुलाई पनि उनीहरुको कुरा सुनिँदैछ भन्ने थाहा भएको हुनुपर्छ, त्यसैले उनीहरुले पनि ‘क्यान्सरका बिरामी’ र ‘क्यान्सरको शल्यक्रिया’ जस्ता सामान्य शब्दहरू प्रयोग गरे र संकेतमा बोले।
तर यो पनि अन्वेषकहरूको लागि पर्याप्त थियो, विशेष गरी जब त्यहाँ हल्लाहरू जताततै थिए कि माटेओ बिरामी थिए।
यस जानकारीको साथमा, अन्वेषकहरूले यो पनि थाहा पाए कि माटेओका सहकर्मीहरूले क्रोन्स नामको रोग (आन्द्रा सुन्निनाले गर्दा हुने गम्भिर पेट दुखाइ) र कलेजोको क्यान्सरको बारेमा इन्टरनेट खोजिरहेका थिए।
यी सबै जानकारीका आधारमा माफिया नेता माटेओ आफ्नो उपचार गराउन क्लिनिकको सम्पर्कमा रहेको प्रहरीले अनुमान गरेको थियो ।
यसपछि प्रहरीले पश्चिमी सिसिलीको ट्रापानीमा सन् १९६२ मा जन्मिएका सबै बिरामीको तथ्यांक संकलन गर्न थाल्यो । अन्वेषकहरूले ती सबै बिरामीहरूको जीवनी डेटा सङ्कलन गर्न थाले र उनीहरूको खोजलाई दस र त्यसपछि पाँचमा सीमित गरे।
प्रहरीको ध्यानाकर्षण गर्ने नाम मध्ये एक एन्ड्रिया बोनाफेडे थियो। यो नाम वास्तवमा माफिया किंग लियोनार्डो बोनाफेटको एक नातेदारको थियो।
पालेर्मोमा सन् २०२० र २०२१ मा बोनाफेडे नामका व्यक्तिको दुईपटक शल्यक्रिया गरिएको प्रहरीले जानकारी दिएको छ । तर, बोनाफेडेको फोनको म्यापिङ गर्दा शल्यक्रिया भएको दुई दिनमध्ये एक दिन वास्तविक बोनाफेडेको फोन राजधानी सिसिलीभन्दा धेरै टाढा रहेको पत्ता लाग्यो ।
जब एन्ड्रिया बोनाफेडेको नाममा क्लिनिकमा एक सत्र बुक गरिएको थियो, पुलिसलाई यो व्यक्ति माटेओ हुन सक्छ भन्ने संकेत मात्र थियो।
सोमबार बिहान, सशस्त्र सेनाका एक सय सिपाहीले सिसिलीको ला मडालेनाको क्लिनिकलाई घेरे।
जब माटेओ क्याफे तर्फ जाँदै थिए, उनले देखे कि उनको वरिपरि पुलिसको ठूलो तैनाथी थियो। उनी फर्किन लागे तर अगाडि बाटोमा केही प्रहरी देखे । उनी भागेनन् । सायद उसलाई पनि पक्राउ पर्नु समयको कुरा हो भन्ने थाहा थियो।
एक प्रहरी अधिकारी कर्नेल लुसियो आर्किडियाकोनोले इटालीको टीहीकम २४ लाई बताए कि उनी विगत आठ वर्षदेखि माटेओको खोजी गर्ने टोलीको हिस्सा थिए।
कर्नेल लुसियो माफिया मालिकलाई आफ्नो आँखा अगाडि देखेको अनुभवबारे भन्छन्, “उनी त्यही मानिस थिए जसको तस्विर मैले धेरै पटक देखेको थिएँ, उनी शारीरिक रूपमा मेरो अगाडि थिए।”
माटेओ पक्राउ परेदेखि विमानस्थलमा लगिएको समयसम्म “विनम्र र नम्र बोली” रहेको भनिन्छ। उनलाई नजिकैको एयरपोर्टबाट सेनाको विमानमा रातारात अब्रुजोको ला क्विलाको उच्च सुरक्षा जेलमा लगिएको थियो।
माटेओले गिरफ्तारी भन्दा पहिले कस्तो जीवन बिताएका थिए भन्ने बारे थोरै थोरै जानकारीहरू अब अगाडि आउँदैछन्। उनी पालेर्मोबाट ११६ किलोमिटर टाढा रहेको क्याम्पोबेलो डि मजारामा एउटा साधारण घरमा बस्थे। यो ठाउँ उनको जन्मस्थल कास्टेल्भेट्रानोबाट मात्र आठ किलोमिटर टाढा थियो।
उनका एक छिमेकीले भने कि उनले माटेओलाई धेरै पटक भेटेका थिए र सामान्यतया दुबैले एकअर्कालाई अभिवादन गर्थे।
प्रारम्भिक रिपोर्टका अनुसार प्रहरीले माटेओको घरमा कुनै हतियार फेला पारेको छैन। उनको घरबाट महँगो परफ्युम, फर्निचर र डिजाइनर कपडा बरामद भएको छ ।
महँगो र विलासी चीजहरूप्रति माटेओको प्रेम कसैबाट लुकेको छैन। पक्राउ पर्दा उनले ३५ लाख रुपैयाँको घडी लगाएका थिए ।
प्राध्यापक मित्या जलुज अधिकारी र पीडित परिवारका लागि माटेओ समस्याको स्रोत बनेको तर उनलाई पक्राउ गर्न वर्षौंको ढिलाइका कारण उनको बारेमा विभिन्न किसिमका कथाहरु बन्न थालेको बताउँछन् ।
उनी भन्छन्, “यो स्पष्ट छ कि उनले धेरै सावधानीपूर्वक जीवन बिताएका थिए र उनले आफ्नो हरेक चालमा सावधान रहनुपर्थ्यो।”
तर डिजिटल फुटप्रिन्ट छोड्ने जोखिमको कारण माटेओले आफैले प्रविधि प्रयोग गरेको हुन सक्ने सम्भावना छैन।
प्रोफेसर मित्या जालुज बताउँछन्, “सुचारु रूपमा काम गर्न जारी राख्न, माफिया किंगले प्रविधिबाट टाढा रहनुपर्थ्यो र पुरानो जीवनशैली अपनाउनुपर्यो। उनले मौखिक कुराकानीको तहसम्म जाँदै, खुफिया कोडहरूको समानान्तर प्रणाली सिर्जना गर्नुपर्यो। ताकि उनी आफ्ना सहयोगीहरूसँग अन्तरक्रिया गर्न जारी राख्न सकून्।”
माटेओको गिरफ्तारीपछि इटालीका मानिसहरू स्तब्ध छन्। प्रधानमन्त्री जर्जिया मेलोनी सेनालाई बधाई दिन सिधै सिसिली पुगिन् । एन्ड्रिया पर्गाटोरी भन्छिन्, “माटेओ अन्तिम गडफादर थिए र उनलाई सबैभन्दा निर्दयी मानिन्छ।”
माटेओले एक पटक भनेका थिए कि उनले मारेका मानिसहरओको लाश संख्याले चिहानघाट भर्न सक्छ।
एन्ड्रिया भन्छिन् कि सन् १९९० सम्म हरेक दिन हत्या हुनु सामान्य कुरा थियो । एन्ड्रिया भन्छिन् कि २००२ मा उनको अनुपस्थितिमा अदालतले हत्याको लागि आजीवन कारावासको सजाय सुनाएको थियो।
एसेक्स युनिभर्सिटीका क्रिमिनोलोजीका प्रोफेसर अन्ना सर्गीले बीबीसीलाई बताइन् कि माफियाको रूपान्तरणको प्रतीक बनेको कोसा नोस्ट्रा आफ्नो मालिक बिना बाँच्न सक्छ कि सक्दैन भन्नेमा शंका छ।
उनी भन्छिन्, ‘उनीपछि माफियाको बोस को बन्छ वा कोही बन्न पनि सक्छ कि सक्दैन त्यो भने हेर्न बाँकी छ ।’