बर्दिबास- महोत्तरीको बर्दिबासस्थित रहेको सामाजिक संस्था बर्दिबास हेल्प फाउण्डेशनको बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
फाउण्डेशनका अध्यक्ष प्रह्लाद कुमार क्षेत्रीको अध्यक्षता तथा प्रदेश सांसद शारदादेवी थापाको प्रमुख आतिथ्यमा साधारणसभा सम्पन्न भएको हो ।



शुक्रवार सम्पन्न साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ समितिको अध्यक्षमा हिरालाल गौतम चयन भएका छन्। उपाध्यक्षमा विष्णु थापा, सचिवमा केशव घिमिरे, सहसचिवमा सागर खड्का र कोषाध्यक्षमा सुमित्रा भट्टराई चयन भएका हुन् ।

यस्तै सदस्यहरुमा रन्जिता पौडेल, दिपक कोईराला, प्रकाश बस्नेत, टिकाध्वज खड्का, धिरेन्द्र सिंह, भुमा बस्नेत, रामहरी खतिवडा, रुकुम सिंह, कुमार भण्डारी, बाबुकाजी चौलागाई र श्रीराम प्याकुरेल रहेका छन् ।
साधारणसभालाई सम्बोधन गर्दै प्रदेशसांसद् शारदादेवी थापाले संस्थाले समाजमा सहयोगी भूमीका खेलिरहेको भन्दै प्रशंसा गरिन् । विगतकोभन्दा थप शसक्त भएर अघि बढ्न सुझाव दिँदै उनले संस्थाको उत्तरोत्तर प्रगतिको कामना गरिन् । संस्थाले शिक्षा क्षेत्रमा गरिब विद्यार्थीको लागि गरेको सहयोगको सांसद थापाले खुलेरै सरहाना गरिन् ।
कोरोना कालमा स्थापना भएको बर्दिवास हेल्फ फाउण्डेशनले बर्दिवास नगरपालिकामा विभिन्न किसिमका कार्यक्रमहरु गरी समाजलाई सहयोग गदै आईरहेका छन् ।
यसअघि फाउण्डेशनले कोभिड प्रभावितका लागि फुड बैंक, पत्रकारहरुका लागि कोभिड राहत कोष, विपन्न व्यक्तीका लागि राहत कोष, रेडक्रस बर्दिवासका लागि सिसिटिभी जडानसमेत गरिसकेका छन् ।
फाउण्डेशनमा आवद्ध रहेका कार्यसमितिहरुको सहयोगबाट गरिब विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययनका लागि छात्रवृती समेत प्रदान गर्दै आएको एकसदस्यले जानकारी दिए ।





