
जनकपुरधाम- जनकपुरधाम उद्योग वाणिज्य सङ्घको पहलमा फागुन ५ गतेदेखि ‘जनकपुरधाम व्यापार मेला २०७९’ को आयोजना हुने भएको छ ।
व्यापार मेलाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापारी र प्रतिष्ठानहरुबीच अनुभव आदान प्रदान भई व्यापार, व्यवसायको विकासमा थप टेवा पुग्ने विश्वास आयोजकको छ ।
जनकपुरधाममा आज पत्रकार सम्मेलनको आयोजना गर्दै व्यापार मेला फागुन ५ देखि १४ गतेसम्म जनकपुरधामको ऐतिहासिक तिरहुतिया गाछीमा आयोजना हुने संघका अध्यक्ष जितेन्द्र महासेठले जानकारी दिए।
स्वदेशी तथा स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने प्रमुख उद्देश्य लिइएको भए पनि मेलामा सार्क राष्ट्रहरू भारत, पाकिस्तान र बङ्गलादेशका विभिन्न क्षेत्रका व्यापारीहरूको सहभागिता रहने अध्यक्ष महासेठले जानकारी दिए।
मेलामा १५० भन्दा बढी स्टल रहने आयोजकले जनाएको छ । १ लाख भन्दा बढीले मेलाको अवलोकन गर्ने अनुमान गरिएको जनकपुरधाम उद्योग वाणिज्य संघका महासचिव मनोज कुमार साहले बताए।